११ बुँदै हेटौंडा घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन
असार, हेटौडा – बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित प्रदेशका युवाहरुको सम्मेलनले युवालाई आयआर्जनसँग जोड्न प्रदेशका १३ जिल्लाका ११९ वटा पालिकाहरुमा सीप विकास तालिम केन्द्रहरुको स्थापना गरी रोजगारीका लागि युवालाई सक्षम बनाउन प्रदेश तथा संघीय सरकार समक्ष पैरवी गर्ने भएको छ ।
सोमबार र मंगलबार आयोजित बागमती प्रदेश युवा परिषदले आयोजना गरेको ‘प्रथम बागमती प्रदेश युवा सम्मेलन’ मा युवा स्वरोजगार, नेतृत्व विकास तथा वातावरणसंग सम्बन्धित विभिन्न एघार बुँदै हेटौंडा घोषणापत्र जारी गर्दै समापन भएको हो ।
प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई हस्तान्तरण गरेको घोषणापत्रमा युवाद्वारा उत्पादन गरिएका सामग्रीको बजार, उत्पादन, रोजगार, अन्य अवसर तथा युवासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुको जानकारी गराउने युवा बजारको अवधारणा विकास गरी कार्यान्वयन गर्ने उल्लेख छ । शैक्षिक कार्यक्रमहरु युवाको वृत्तिविकासमा प्रत्यक्ष परिवर्तन देखिने शैक्षिक पाठ्यक्रम निर्माण गर्न र इच्छा अनुसारको जीवन उपयोगी सीप सिकाउने र प्रत्यक्ष रुपमा आम्दानी हुने उमेर लक्षित सीप र काम भन्ने कार्यक्रमहरु निर्माण गर्ने, देशका शैक्षिक संस्थाहरुलाई उत्पादनसँग जोड्न र नागरिकमा उद्यम भावनाको विजारोपण गर्ने उद्देश्यले बागमती प्रदेशका १३ जिल्लाका ११९ पालिकाहरुमा रहेका ७०३१ वटै सामुदायिक विद्यालयहरुमा एक शिक्षण संस्था एक उद्यम र उत्पादनको नाराका साथ कार्यक्रम सञ्चालन गर्न पहल गर्ने घोषणापत्रमा छ ।
यस्तै, प्रदेश युवा परिषद्ले सम्बन्धित मन्त्रालयमार्फत् जीवन उपयोगी सीप सिकाउने र प्रत्यक्ष रुपमा आम्दानी हुने उमेर लक्षित सीप र काम भन्ने नाराका साथ नीति तथा कार्यक्रम तर्जुमा गर्न पहल गर्ने, सहज र सहुलियत कर्जा, बजारको सुनिश्चितता र दिगो उद्यमशीलता तथा उत्पादनको निश्चितता हुने गरी सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरुमा परिमार्जन गर्दै युवा लक्षित व्यापारमैत्री उत्पादनलाई जोड दिन जोखिम हुने उद्यममा व्यावसायिक सुरक्षाको जोखिम लिनसक्ने वातावरण तयार गर्न पहलकदमी लिने घोषणापत्रमा छ ।
देशप्रतिको सम्मानभाव प्रकट गर्दै असल जिम्मेवार नागरिकको भावना विकास गर्ने अभिप्रायले कक्षा ११ र १२ को औपचारिक अध्ययन पश्चात् हरेक युवालाई अनिवार्य रुपमा युवाको रुची तथा विषयगत क्षेत्रमा न्युनतम ३ महिना स्वयम् सेवकका रुपमा कार्य गर्ने अवधारणालाई अवलम्बन गर्न नीतिगत निर्णय गरी अगाडि बढ्न पहल गर्ने, सरकारको नीति, कार्यक्रम र योजना निर्माणको प्रक्रियामा युवाको सहभागिता र विकास परियोजनाहरुमा प्रत्यक्ष संलग्नता सुनिश्चित गर्न योजना प्रक्रियालाई युवामैत्री बनाउन जोड दिने पनि घोषणामा उल्लेख छ ।
सूचना प्रविधिको प्रभावकारी प्रयोग र उपायोगिताको र सुरक्षित इन्टरनेट र सामाजिक सञ्जाल प्रयोगका लागि युवा परिषद्को अगुवाइमा प्रदेशका सबै जिल्लामा सूचना प्रविधिको समुचित र उपयोगी प्रयोग केन्द्रित अभियान सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख छ । युवाको नवीनतम् सोच र प्रयोगका साथै आविष्कार गरिएका प्रविधि, उत्पादन र विशेष खालको खोज, अनुसन्धानहरुमा राज्यको सहयोग र प्रवद्र्धनमा साझेदारी भई कार्य गर्न जोड दिने, उद्यमशीलता तथा व्यवसायमा युवालाई प्रेरित गर्ने गरी कानुनी प्रक्रियालाई सरलीकृत गर्ने घोषणापत्रमा छ ।
यस्तै, जलवायु परिवर्तन र वातावरण प्रदूषण लगायतका समस्याहरुको विषयमा छलफल पैरवी गरी वातावरण संरक्षणमा युवा सहभागिता बढाई अन्तर्राष्ट्रिय अभ्यास अवलम्बन गर्ने पनि सम्मेलनद्घारा जारी हेटौंडा घोषणापत्रमा छ । सम्मेलनमा युवासंग सम्बन्धित पाँच वटा विविध विषयमा अन्तरक्रिया भएको थियो ।