डिजिटल मुद्रा जारी गर्ने राष्ट्र बैंकको तयारी

तामसालिङ खबर
४ असार २०८०, सोमबार ०७:१८

असार, काठमाण्डाै – नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अहिलेसम्म विश्वका ११ वटा देशले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको बताउनुभयो ।

वित्तीय तथा विद्युतीय साक्षरताबारे माछापुच्छ्रे बैंक र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालबीचको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले विद्युतीय साक्षरताबारे पुराना पाठ्यक्रम पढाएरभन्दा पनि आधुनिकताको विकाससँगै हरेक दिनका नवीन आयामलाई शिक्षक र विद्यार्थीले आत्मसात् गर्न पाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँका अनुसार अहिले प्रतिमहिना औसतमा ४० अर्ब रुपैयाँको विद्युतीय कारोबार हुने गरेको छ । गएकाे वैशाखमा क्युआर कोडमार्फत ८६ लाख व्यक्तिले २६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको भन्दै नेपालमा विद्युतीय कारोबारको प्रयोग बढ्दो रहेको उहाँले बताउनुभयो । राष्ट्र बैंकले चालु आर्थिक वर्षलाई विद्युतीय भुक्तानी प्रवर्धन वर्षका रूपमा सञ्चालन गरिरहेको छ ।

माछापुच्छ्रे बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले वित्तीय र विद्युतीय कारोबारलाई बढाएर समृद्ध देश निर्माणमा योगदान दिन सकिने बताउनुभयो । प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले आर्थिक कारोबार र विद्युतीय मुद्दामा तल्लो तहसम्म सचेतना प्रवाह नभएसम्म देश समृद्ध हुन नसक्ने बताउनुभयो ।

त्यस अवसरमा प्याब्सन अध्यक्ष ढुङ्गाना र बैंकका प्रमुख कार्यकारी निर्देशक सन्तोष कोइरालाबीच वित्तीय तथा विद्युतीय साक्षरता अभियानसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*