प्रदेशको बजेटप्रति हेटौंडाका वडाध्यक्षको आपत्ति

तामसालिङ खबर
३ असार २०८०, आईतवार ०६:०३

असार, हेटौंडा – बागमती प्रदेश सरकारले शुक्रबार सार्वजनिक गरेको बजेटप्रति हेटौँडा उपमहानगरपालिकाका वडा अध्यक्षहरुले आपत्ति जनाएका छन् । प्रदेशको राजधानी भएको उपमहानगरकै वडाहरुलाई उपेक्षा गरेर बजेटमा कुनै पनि कार्यक्रम नसमेटिएको भन्दै उनीहरुले शनिबार हेटौंडामा पत्रकार सम्मेलन नै गरेर आपत्ति जनाएका हुन् ।

वडाध्यक्षहरुले प्रदेश सरकारले राजधानी हेटौंडाको विकास निर्माणको लागि कुनै बजेट विनियोजन नगरेको भन्दै आपत्ती जनाएका हुन् । वडाध्यक्षहरुले हेटौंडामा हुने सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री र मन्त्रीहरु सहभागि भए उनीहरुलाई कालो झण्डा देखाउँदै बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा १४ का वडाध्यक्ष दीपक खड्काले राजधानीको विकासका लागि बजेट विनियोजन नगरेको भन्दै आफूहरुले प्रदेशका मन्त्रीहरुलाई सार्वजनिक कार्यक्रममा कालो झण्डा देखाउने र बहिष्कार गर्ने तयारीका साथ अघि बढ्ने बताए । उनले प्रदेश सरकारको बजेट पूर्वाग्राही ढंगले आएको भन्दै बजेट नसच्चिए कडा रुपमा प्रस्तुत हुन बाध्य हुने समेत बताए । प्रदेशको राजधानी हेटौंडालाई नियोजित ढंगले बजेट नहाल्नुले राजधानी सार्न खोजेको भान भएको बताएका थिए ।

त्यस्तै, हेटौंडा–१० का वडाध्यक्ष फुर्वा दोर्जे लामाले प्रदेशको राजधानी हेटौंडा भएको र त्यसमा पनि १० नम्बर वडामा प्रदेशका मन्त्रालयहरु देखि प्रदेश सभा भवन लगाएत धेरै सरकारी भवनहरु भएको तर यहाँकै पूर्वाधार विकास निर्माणमा बजेट शून्य पार्नुले राजधानीलाई पछि पार्न खोजेको बताएका छन् ।

कार्यक्रममा हेटौंडा १९ को वडाध्यक्ष नरनाथ सुवेदी, हेटौंडा ५ का वडाध्यक्ष सुशील घिमिरे, हेटौंडा ११ की वडाध्यक्ष जुना दाहाल, हेटौंडा १५ का वडाध्यक्ष सुनिल मोक्तान लगायत सहभागी रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*