मुख्यमन्त्री जमकट्टेललाई प्रेस सेन्टर मकवानपुरको ध्यानाकर्षणपत्र

तामसालिङ खबर
३२ जेष्ठ २०८०, बिहीबार ०६:३८

जेठ, हेटौडा – प्रेस सेन्टर नेपालले उठाउँदै आएका र राखेका मागहरूका सन्दर्भमा नेपाल सरकारलाई ध्यानाकर्षण गराउनको लागि मुख्यमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । प्रेस सेन्टर मकवानपुरले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई पत्रकारहरुको हकहित र ब्यबसायिक सुरक्षाको माग सहित १४ बुद्धे ध्यानाकर्षणपत्र बुझाएको हो ।

पत्रमा सरकारले मन्त्रीपरिषद्बाट निर्णय गरी नीति कार्यक्रममार्फत समानुपातिक विज्ञापन प्रणालीको नीति ल्याएकोमा धन्यबाद दिंर्दै व्यवहारिक रुपमा तत्काल कार्यन्वयन गर्न माग गरिएको छ । यसको लागि विज्ञापनलाई एकद्दार प्रणालीमा लैजाने ब्यवस्था मिलाउन र विज्ञापन बोर्डलाई समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयनको लागि थप जिम्मेवार बनाउन तथा प्रकृया पूरा गरी सञ्चालनमा रहेका अनलाइन सञ्चार माध्यमहरुलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने विषयमा बजेटमा सम्बोधन भए पनि त्यसको कार्यान्वयनमा देखिएको समस्या हल गर्न यथासिघ्र पहलको लागि ध्यानाकर्षण गराइएको छ ।

त्यसैगरी, भ्रष्टचारविरुद्धको अभियानमा सरकार पछि नहट्न अनुरोध गरिएको छ । ध्यानाकर्षणपत्रमा भनिएको छ ‘संविधानले सुनिश्चित गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालगायत जनपक्षीय उपलब्धीहरु थप संस्थागतगर्नुपर्ने आवश्यकता छ । त्यसका लागि परिवर्तनपक्षधर शक्तिहरुको एकता अपरिहार्य पनि छ । तसर्थ संविधान र संविधानले प्रद्दत गरेका उपलब्धी रक्षाका लागि उभिएका शक्तिहरुबीचको एकता विगतका कमजोरीहरु सच्याउँदै आगामी दिनमा थप मजबुत बनाएर प्रतिगामी शक्तिलाई परास्त गर्ने गरी वर्तमान सरकारले सहकार्य गर्ने विश्वास संगठनले गरेको छ ।’

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर्न मिडिया काउन्सिल तथा आमसञ्चार माध्यमसँग सम्बन्धित अन्य कानुनहरु यथासिघ्र प्रकृयागत हिसाबले अगाडि बढाउन र ती कानूनहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री बनाउन आग्रह गरिएको छ । साथै न्युनतम पारिश्रमिक निर्धारण समितिलाई अनुगमनको समेत जिम्मेवारी दिदै अझ बलियो र प्रभावकारी बनाउन पत्रमा उल्लेख गरिएको छ ।

यस्तै पछिल्लो पटक पत्रकार तथा आमसञ्चार माध्यमसँग असम्बन्धित साइबर कानुनलाई जोडेर पत्रकार तथा आमसञ्चार माध्यमलाई प्रहरी प्रशासनले अनावश्यक दुःख दिने तथा धरपकड गर्ने कार्य जारी रहेको भन्दै सञ्चार माध्यमबाट सम्प्रेषित सामाग्रीप्रति गुनासो भए सम्बन्धित निकायमा जान सुझाइएको छ ।

सवै श्रमजीवि पत्रकारलाई सामाजिक सुरक्षा कार्यक्रममा समेटने गरी प्रभावकारी नीति बनाउन र त्यस्ता समाजिक सुरक्षा कार्यक्रम आम पत्रकारहरुको पहुँचसम्म पुर्याउन माग गरिएको छ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारीस गरेको पत्रकारको न्यूनतम पारिश्रमिक तत्काल लागु गर्न पत्रमा अनुरोध गरिएको छ । त्यसैगरी सञ्चारमाध्यमहरू सरकार मातहतका कुनै एक निकायमा दर्ता भइसकेपछि त्यसलाई अन्यत्र समेत सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्ड, सञ्चार रजिष्ट्रारको कार्यालय लगायतमा दर्ता/नवीकरण गरिरहनुपर्ने झण्झटिलो व्यवस्था तत्काल खारेज गरी कुनै एक ठाउँको दर्तालाई नै आधार मानी कामकारबाही गर्न सकिने व्यवस्था गर्न माग गरिएको छ ।

राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन रेडियो नेपाल, गोरखापत्र लगायत सरकारी तथा नीजि सञ्चार माध्यममा कार्यरत श्रमजीवी पत्रकारहरुको रोजगारी सुनिश्चितताको वातावरण निर्माण गर्न आग्रह गर्दै पत्रकारको दक्षता अभिवृद्धिका लागि गठन गर्ने भनिएको आम सञ्चार प्रशिक्षण प्रतिष्ठान तत्काल गठन गर्नका लागि सरकारसँग आग्रह गरिएको छ ।

प्रेस सेन्टरले देशभरीबाट ध्याकर्षण बुझाउने कार्यक्रम अन्तर्गत मकवानपुरले पनि मुख्यमन्त्रीलाई पत्र बुझाउदै पत्रकार हकहितमा लाग्न आग्रह गरिएको बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*