सकियो, ‘सोक्ला रक क्लाइम्बिङ’ महोत्सव

तामसालिङ खबर
१९ जेष्ठ २०८०, शुक्रबार १८:३२

जेठ, दोलखा – दाेलखाकाे भीमेश्वर नगरपालिका २ को सोक्ला गाउँमा ‘सोक्ला रक क्लाइम्बिङ- २०८०’ सम्पन्न भएको छ।

सदरमुकाम चरिकोटबाट ८ कि.मि दूरीमा रहेको सोक्ला गाउँमा ‘श्रोत साधनको खोजी गरौँ, साहसिक खेल पर्यटनलाई प्रवर्धन गरौँ’ भन्ने नारासहित यही जेठ १८ र १९ गते गरी २ दिन जिल्लामै पहिलो पटक आयोजना गरिएको हो।

महोत्सवको उद्घाटन गर्दै नेपाल पर्यटन वोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले रक क्लाइम्बिङ साहसिक खेल पर्यटनको अंग भएकोले यसद्वारा आन्तरिक तथा बाह्य पर्यटकहरु भ्रमण गरी दोलखाको पर्यटनलाई टेवा पुग्ने बताए।

रक क्लाइम्बिङ गरेपछि उत्साहित हुँदै उनले भने, ‘म सगरमाथाको समिट पुगे जस्तो अनुभव भयो। यो खेल पर्यटनलाई प्रडक्टको रुपमा प्रवर्धन गर्न बाेर्डले सक्दो सहयोग गर्नेछ।’ यस्ता साहसिक पर्यटकीय गतिविधिले पर्यटन क्षेत्रकाे आर्थिक समृद्धि र विकास गर्न मद्दत पुग्ने उनकाे भनाइ छ।

कार्यक्रममा मन्तव्य दिने क्रममा प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले दोलखा जिल्ला धार्मिक र पर्यटनको प्रमुखस्थल रहेको बताए। भीमेश्वर नगरपालिका आफैंमा धार्मिक पर्यटकीय गन्तव्य रहेको र रक क्लाइम्बिङले नयाँ पर्यटन गन्तव्य हुने समेत उनको धारणा थियाे।

प्राकृतिक र साहसिक पर्यटनको लागि दोलखा नमुना पर्यटकीय गन्तव्य हो। यस क्षेत्रमा रक क्लाइम्बिङ, वाल (पर्खाल) क्लाइम्बिङ, पाराग्लाडिङ, साइक्लिङ, नागदहदेखि सोक्लाभ्यालीसमम ‍र्‍याफ्टिङ गर्ने सकिने समेत उनले बताए।

सयौँ स्थानीयवासी सहभागी रहेको महोत्सवमा स्थानीय बाजागाजासहित भव्य उद्घाटन गरिएको थियो। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले समेत आ-आफ्ना मन्तव्य दिएका थिए।

महोत्सव कार्यक्रममा सयौँ विद्यार्थी, स्काउट प्रतिनिधि र स्थानीयवासीको उपस्थितिले सोक्ला भिरमा रौनक थपिएको थियो। उपस्थित महिला तथा पुरुषहरुले रक क्लाइम्बिङ सहभागी हुँदै भरपुर आनन्द लिएका थिए।

सोक्लाश्वरी पर्यटन विकास समाजद्वारा आयोजना गरिएको रक क्लाइम्बिङ महोत्सवलाई नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग रहेको थियो। जसलाई माउन्टेड गाईड एसोसिएसन अफ नेपाल (मोगान)ले प्राविधिक सहयोग गरेको थियो। त्यस्तै भीमेश्वर नगरपालिका सहआयोजक थियो भने सहयोगी संस्थाहरु नेपाल पर्वतारोहण संघ (एनएमए), ट्रेकिङ एजेन्सिस् एसोसिएन अफ नेपाल(टान), ग्रामिण पर्यटन विकास समाज (भिटोफ), द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन, एमडी ग्रुप, स्काइ ट्रि एजुकेशन प्रा.लि., आशीर्वाद कोरियन भाषा स्कुल, हिमालयन क्राउन एकेडेमीलगायतले हातेमालो गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*