सानाकिसान मनहरीले रजतजयन्तीको अवसरमा सप्ताहब्यापी कार्यक्रम गर्ने
जेठ, हेटौडा (मनहरी) – साना किसान सहकारी संस्था लिमिटेड मनहरीले आफ्नो २५ औँ वार्षिकोत्सव रजत जयन्तिको अवसरमा सप्ताहव्यापी कार्यक्रमको घोषणा गरेको छ ।
आइतबार मनहरीमा पत्रकार सम्मेलन गर्दै संस्थाले सप्ताहब्यापी कार्यक्रमको घोषणा गरेको हो । कार्यक्रमको पहिलो दिन २१ गते आईतबार साँझ पत्रकार सम्मेलन गरेको छ भने, यहि जेठ २२ गते सोमबार विहान ७ बजे वातावरण दिवसको अवसरमा मनहरी गाउँपालिका ७ रमौली स्थित चुरियामाई मन्दिर परिसरमा वृक्षारोपण गर्ने कार्यक्रम रहेको संस्थाका प्रवन्धक ज्योती सुवेदीले जानकारी दिनुभयो।
त्यस्तै, जेठ २३ गते बिहान ७ बजे संस्थाको कार्यालय सभाहलमा रक्तदान, २४ गते बिहान ७ बजे ‘गरिबी न्यूनिकरणमा साना किसानको भूमिका विषयमा मावि स्तरीय वक्तित्वकला प्रतियोगिता, २५ गते बिहान ७ बजे ‘आधुनिक प्रविधि र प्रतिस्पर्धात्मक अवस्थामा संस्थापक सदस्यहरुको भुमिका र महत्वका विषयमा अन्तरक्रिया एवम् प्रशिक्षण र कृषक सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रम रहेको छ भने अन्तिम दिन जेठ २६ गते बिहान ७ बजे संस्थाको आधुनिक सभाहल भवनको उद्घाटन र सहकारीकर्मी सम्मान तथा पुरस्कार कार्यक्रम रहेको छ ।
२०५५ साल जेठ २६ गते स्थापना गरिएको सस्थामा ६ सय ६० जना शेयर सदस्य रहेका छन्। हाल २ हजार ५ सय ६८ जना शेयर सदस्य रहेको छ। संस्थाकी अध्यक्ष बिमला कार्कीको सभाध्यक्षमा भएको पत्रकार सम्मेलनमा मनहरी गाउँपालिका निवर्तमान अध्यक्ष तथा संस्थाका संस्थापक अध्यक्ष एकराज उप्रेतीले उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष नारायण उप्रेती, इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक कृष्ण प्रसाद ढकाल, उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका अध्यक्ष गणेशमान मानन्धर लगायतकाको उपस्थिति रहेको थियो ।