केशवलाल स्मृति राष्ट्रिय पुरुष भलिबलको उपाधि एपिएफलाई
जेठ, हेटौंडा – केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौंडाको आयोजनामा भएको पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी (एपिएफ क्लब) ले हात पार्न सफल भएको छ। शनिबार हटौंडामा भएको फाईनल खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो ।
प्रतियोगितामा उपाधि हात पारेसँगै एपिएफले नगद दुई लाख रुपैयाँ सहित ट्रफि र मेडल प्राप्त गरेको छ । यस्तै उपविजेता त्रिभुवन आर्मी क्लबले एक लाख नगद सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । वेष्ट अफ फाईपमा खेलाईएको खेलमा एपिएफले आर्मीमाथि पहिलो सेटमा २५-२०, दोश्रो सेटमा १७-२५, तेश्रो सेटमा २५-१७ र चौथो सेटमा २९-२७ को जीत निकाल्दै उपाधी हात पार्न सफल भएको थियो ।
चौथो राउण्डमा निकै प्रतिस्पर्धात्मक रुपमा अगाडी बढेको त्रिभुवन आर्मीले एपिएफको सामाना गर्न सकेन् र उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो । खेलमा नेपाल पुलिस क्लब र गण्डकी प्रदेश भलिबल टिमले तृतीय स्थान हासिल गरेसँगै पचास/पचास हजार नगद सहित ट्रफि र मेडल प्राप्त गरेका छन् ।
खेलको सर्वोत्कृष्ट खेलाडी एपिएफका विजय थापा घोषित भएका छन र उनले नगद १५ हजार सहित ट्रफि र मेडल प्राप्त गरेका थिए । खेलको वेष्ट कोच एपिएफका पुष्पजङ्ग मल्ल, वेष्ट सेटर एपिएफका सुवास कुँवर घोषित भएका थिए भने वेष्ट स्पाईकर त्रिभुवन आर्मी क्लबका शरण सामारी, वेष्ट डिफेण्डर आर्मीका ईश्वर थापा, वेष्ट बल्कर आर्मीकै खेलाडी सरोज चौधरी घोषित भएका थिए । उनीहरुले नगद पाँच हजार सहित ट्रफि र मेडल प्राप्त गरेका छन् ।