न्यूयोर्कको सडक ‘तेन्जिङ नोर्गे शेर्पा मार्ग’ नामकरण

तामसालिङ खबर
१६ जेष्ठ २०८०, मंगलवार १८:२५

जेठ, न्युयोर्क – अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स बोरोको ७५ स्ट्रिटको ब्रोड वे र उडसाइडको सडकलाई पहिलो सगरमाथा आरोही ‘तेन्जिङ नोर्गे शेर्पा मार्ग’ नामकरण गरिएको छ।

उक्त सडकलाई नामकरणका लागि ६ वर्षदेखि स्थानीय रूपमा सक्रिय रहेका युनाइटेड शेर्पा किदुङ्ग र युएसए नेपाल क्लाइम्बर्स एशोसिएसनले पहल गर्दै आएकामा गत अप्रिलमा न्यूयोर्कको क्विन्सको डिष्ट्रिक्ट २५ को सिटी काउन्सिलले नाम राख्न अनुमति दिएको थियो।

क्लाइम्बर्स एशोसिएसनका अध्यक्ष पासाङनिमा शेर्पाले भने‚ ‘सिटीको अनुमति पाएपछि हामीहरूले सगरमाथा दिवसकै दिन पारेर उक्त सडकमा तेन्जिङ शेर्पाको नाम राखेका हौँ। हामी सगरमाथाको देशबाट आएर पहिलो सगरमाथा आरोहीकै नाममा न्यूयोर्कजस्तो विशाल सिटीमा सडकको नामकरण हुनु साह्रै गर्वको विषय हो।’

सोमबार आयोजित कार्यक्रमपछि उनले यो सम्पूर्ण आरोहीहरूका लागि खुसीको क्षण र नेपालीहरूका लागि गर्वको विषय भएको बताए।
लामो समयदेखि न्यूयोर्कमा बस्दै आएका जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले नेपालीको नाममा सडकको नामकरण हुनु सुखद् क्षण भएको टिप्पणी गरे।

उनले भने, ‘सगरमाथाको देश भनेर हामी विश्वभरि चिनिन्छौँ, त्यसमा पनि प्रथम आरोही तेन्जिङ शेर्पाको नाममा सडकको नामकरण गर्न सहजीकरण गरिदिनुभएकामा काउन्सिलका सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु।’

यसअगाडि प्रथम दक्षिण एसियालीमूलकी कंग्रेसवुमन जेनिफर राजकुमारले एक सङ्कल्पपत्र पारित गरेर मे २९ लाई सगरमाथा दिवसका रूपमा मान्यता दिलाउन सफल भएकी थिइन्। त्यसैले सोमबार ७०औं सगरमाथा दिवस पनि मनाइएको थियो ।

सोमबार आयोजित कार्यक्रममा तेन्जिङ शेर्पाका छोरा नोर्बु तेन्जिङ नोर्गे, दामे तेन्जिङ नोर्गेसमेत सहभागी भएका थिए। नेपाली नियोगका प्रतिनिधि, नेपाली समुदायका अगुवालगायत कार्यक्रममा सहभागी भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*