खानेपानीको लागि ४० प्रतिशत भन्दा बढी श्रमदान

राज कुमार केसी
९ जेष्ठ २०८०, मंगलवार १८:३९

जेठ, हेटौडा (थाहा नगर) – थाहा नगरपालिका वडा नं. ११ को दुई गाउँमा शुद्ध खानेपानीको ब्यवस्थापन गर्नको लागि स्थानीय उपभोक्ताहरुले ४० प्रतिशत भन्दा बढी श्रमदान गरी दुई खानेपानी योजना सम्पन्न गरेका छन् ।

नगरपालिकाको एक घर एक धारा अभियान अन्तर्गत खानेपानी योजना सम्पन्न भएपछि कुवापानीमा रहेका २८ र कालोपानी ठाडोखोलाका १ सय ६७ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

वडाको कुवापानी गाउँका २८ घरधुरीलाई खानेपानीको ब्यवस्थापन गर्नको लागि थाहा नगरपालिकाको २० लाख, थाहा नगरपालिकाको बिकास साझेदारको रुपमा कार्य गर्दै आएको अन्तरराष्ट्रिय संस्था च्वाईस नेपाल तथा डोटेरा हिलिङ हेन्ड फाउण्डेसनको २५ लाख र स्थानीय जनश्रमदानबाट ४९ लाख ८३ हजार ५ सय ८ रुपैयाँ गरी कूल ९४ लाख ८३ हजार ५ सय ८ रुपैयाँको लागतमा कुवापानी खानेपानी योजना सम्पन्न भएको च्वाईस नेपालका प्रताप घिमिरेले जानकारी दिनुभयो ।

त्यस्तै, कालोपानी ठाडोखोलाका १ सय ६७ घरधुरीलाई खानेपानीको ब्यवस्थापन गर्नको लागि थाहा नगरपालिकाको ४५ लाख, च्वाईस नेपाल तथा डोटेरा हिलिङ हेन्ड फाउण्डेसनको ८० लाख र स्थानीय जनश्रमदानबाट ५६ लाख ५१ हजार १ सय ४३ रुपैयाँ गरी कूल १ करोड ८१ लाख ५१ हजार १ सय ४३ रुपैयाँ खर्च भएको च्वाईस नेपालका घिमिरेले जानकारी दिनुभयो । यस योजनामा मुख्य ५० हजार लिटरसहितको ३ वटा खानेपानी ट्याङ्की रहेका छन् ।

कुवापानीमा रहेका २८ घरधुरी र कालोपानी ठाडोखोलाका १६७ घरधुरीमा ऐले धारो जडान भईसकेको छ । आँगनमै धारोमा शुद्ध खानेपानी आएपछि डेढ घण्टा पर जंगलमा रहेको कुवाबाट पानी ल्याउन पर्ने समस्याको समाधान भएको स्थानीयहरु बताउँछन् । आँगनमै पानी आएपछि समयको बचत भएको र बालबालिकालाई समयमै खाना बनाएर बिद्यालय पठाउन समेत सहज भएकोमा स्थानीयहरु खुसी देखिन्छन् ।

थाहा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष दिनेश तामाङले कुवापानी र कालोपानी ठाडोखोला क्षेत्रमा अन्नको भन्दा बढी पानीको दुःख भएकोमा ऐले आँगनमै खानेपानीको ब्यवस्था भएपछि वडाबासी खुसी भएको बताउनुभयो । विकासका अन्य कामसंगै घर-घरमा खानेपानीको धारा पु¥याउँन पाउँदा आफू निकै खुसी भएको समेत वडाध्यक्ष तामाङले बताउनुभयो ।

हाल विद्युतको सहायताले मुहानदेखि २२ सय मिटर माथि रहेको ट्याङ्कीमा लिफ्टिङ बिधिद्वारा पानी जम्मा गरी कुवापानीबासीलाइ ६/६ हजारको दुईवटा र एउटा १० हजार लिटरको गरी तीनवटा खानेपानी ट्याङ्की मार्फत खानेपानी वितरण भइरहेको छ ।

त्यस्तै कालोपानी ठाडोखोला खानेपानी आयोजनाबाट थाहा नगरपालिकाको वडा नं. १ र ११ का १६७ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । कुवापानीबासीका जस्तै खानेपानीका लागि अभाव झेलीरहेका थाहा नगरपालिका वडा नम्बर ११ टिष्टुङकै फलाँटे, भट्टीडाँडा, तल्लो देउराली, माथिल्लो देउरालीलगायतका क्षेत्रका बासिन्दाहरुको पनि घरघरमा खानेपानी धारा जडान भएको छ ।

थाहा नगरपालिकाका प्रमुख बिष्णुबहादुर बिष्टले थाहानगरका सबै वडामा शुद्ध खानेपानी ब्यवस्थापनका लागि योजना तयार गरिएको र स्वच्छ खानेपानी नागरिकको मौलिक अधिकार भएकोले छिट्टै नगरभित्र खानेपानीको प्रभावकारी ब्यवस्थापनको लागि थाहा नगर खानेपानी बोर्ड मार्फत प्रत्येक घरमा खानेपानीको धारा पु¥याउने लक्ष्य रहेको बताउनुभयो ।

आर्थिक बर्ष २०७८/०७९ मा शुरु भएको खानेपानी योजना सम्पन्न गर्नकालागि ब्यापक जनसहभागिताका करण समयमै सम्पन्न भएकोमा च्वाइस नेपालका कन्ट्री डाईरेक्टर प्रतीक शर्माले सबै उपभोक्ताहरुलाई धन्यवाद दिनुभयो ।

खानेपानी आयोजनाका लागि स्थानीय सरकार र दातृ निकायको मात्र लगानीले नपुग्ने भएपछि उपभोक्ताहरुले महिनौसम्म श्रमदानमा गरेका हुन् । आफ्नो गाउँका लागि आएको योजनामा श्रमदान गर्दा योजनाको मायाँ हुने र दीगोपना पनि आउने भएपछि उपभोक्ताहरु श्रमदान गर्न उत्साहित भएको स्थानीय सविन तितुङले बताउनुभयो ।

उक्त दुई खानेपानी योजना सम्पन्न गर्नका लागि स्थानीय उपभोक्ताका साथै डोटेरा अमेरिका, डोटेरा मलेसिया, डोटेरा चाइना र डोटेरा ताइवानका ४१ जना बिदेशी स्वयंसेवकहरुले समेत श्रमदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*