आठ दलीय गठबन्धनको सबै सांसदलाई फागुन २३ भित्र काठमाडौँ बोलाइने

पत्रपत्रिकाबाट
१५ फाल्गुन २०७९, सोमबार ०६:०३

फाल्गुन, काठमाडौं – राष्ट्रपति निर्वाचनकाे मनोनयनको लागि अघिल्लो दिन बनेको आठ दलीय गठबन्धनको आइतबारको बैठकले गठबन्धनमा आबद्ध सबै दलका सबै सांसदहरूलाई फागुन २३ भित्र काठमाडौँ आउन निर्देशन दिएको छ ।

राष्ट्रपतिको निर्वाचनका लागि उनीहरूलाई काठमाडौँ बोलाउने निर्णय भएको जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
त्यसै गरी बैठकले आठ दलका एक एक जना प्रतिनिधि रहने गरी एक कार्यदल बनाउने र त्यसले पार्टीभित्र र अन्तर पार्टी छलफल गर्ने निर्णय पनि गरेको छ । बैठकले फागुन १८ गते संघीय सांसदलाई अभिमुखीकरण दिने र १९ गते सातै प्रदेशमा निर्वाचनलक्षित कार्यक्रम गर्ने निर्णय गरेको छ । ती कार्यक्रममा गठबन्धन दलका नेताहरू सहभागी हुनेछन् ।

बैठकले संघ तथा प्रदेशसभाका सांसदहरूलाई फागुन २३ गते सम्म काठमाडौँ आइसक्न निर्देशन दिएको छ । २४ गते सबै सांसदलाई काठमाडौँमा ब्रिफिङ गरिने र रामचन्द्र पौडेललाई मत दिन भनिने नेता श्रेष्ठले जानकारी दिए ।

ब्रिफिङमा सांसदहरूलाई नयाँ समीकरणको आवश्यकता, संविधानको रक्षा, प्राप्त उपलब्धि बचाउन नयाँ गठबन्धन आवश्यक भएकोबारे स्पष्ट पार्ने र जनतामा छरिएको अस्थिरताबारेको भ्रम हटाउन प्रयास गर्ने गठबन्धनले पहल गर्नेछ । साथै बैठकले सबै दललाई राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्न आह्वान पनि गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*