कैलाशमा सामुदायिक आँखा केन्द्र सन्चालन हुने

तामसालिङ खबर
१३ फाल्गुन २०७९, शनिबार १३:३७

फाल्गुन, हेटौडा (कैलाश) – मकवानपुरको कैलाश गाउँपालिकामा सामुदायिक आँखा केन्द्र संचालनमा आउनेभएपछि स्थानिय नागरिकले आफ्नै गाउँबाट आँखा उपचार सुविधा पाउने भएका छन् ।

कैलाश गाउँपालिकाको कालिकाटारमा आँखा केन्द्र सञ्चालन गर्ने सम्बन्धी बिहिबार तिलगंगाा आँखा प्रतिष्ठान र गाउँपालिकाबिच सम्झौता पत्रमा हस्ताक्षर भएपछि यस्तो सुविधाको सुनिश्चितता भएको हो । तिलगंगा आँखा प्रतिष्ठान हेटौंडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधिर श्रेष्ठ र कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

आउँदो चैतको अन्तिम सातादेखि सामुदायिक आँखा केन्द्र सञ्चालनमा आउने गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताउनुभयो । ‘अहिलेसम्म कैलाशमा आँखा सम्बन्धी उपचार गर्ने स्वास्थ्य केन्द्र नभएको अवस्थामा सामुदायिक आँखा केन्द्रको स्थापना पछि कैलाशका स्थानीयका साथै राक्सिराङ गाउँपालिकाका नागरिकले समेत सेवा प्राप्त गर्दछन् ।’ उहाँले भन्नुभयो–‘अहिले पालिका भवन सँगै निर्माण भैरहेको अस्पतालको निर्माण कार्य सकिएपछि आँखा केन्द्रलाई सोहि अस्पतालबाट सञ्चालनमा ल्याइने छ ।’

सम्झौता अनुसार केन्द्रलाई आवश्यक पर्ने मेडिकल उपकरण प्रतिष्ठानले उपलब्ध गराउने हेटौंडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रमा सम्पुर्ण किसिमको आँखा जाँच र चस्मा जाँच हुने गाउँपालिका अध्यक्ष मुक्तानले बताउनुभयो ।

कैलाश-३ कालिकाटारमा रहने आँखा केन्द्रमा १ जना नेत्र सहायकसहित ३ जना कर्मचारी रहने उहाँले बताउनुभयो । चैत अन्तिम साता कालिकाटारमा बृहत आँखा शिविर गरेर केन्द्रको उद्घाटन गर्ने तयारी रहेको उहाँको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*