मकवानपुरमा तिन दिवसीय सालक दिवस मनाइने

तामसालिङ खबर
३ फाल्गुन २०७९, बुधबार १७:०९

फाल्गुन, हेटौडा – ‘सालक संरक्षणमा समुदायको नेतृत्व’ भन्ने नाराका सहित मकवानपुरमा तीन दिवसीय सालक दिवस मनाईने भएको छ । विश्व सालक दिवस अवसरमा डिभिजन वन कार्यालय राप्ती, डिभिजन वन कार्यालय मकवानपुर, एस.एम.सि.आर. एफ र ग्रीनहुड नेपालको संयुक्त आयोजनामा फागुन ४, ५ र ६ गते विविध कार्यक्रम सहित मनाईने भएको हो ।

हरेक वर्ष फेब्रुअरी महिनाको तेश्रो शनिवार मनाईने विश्व सालक दिवस यो वर्ष मकवानपुरमा जिल्ला समन्वय समिति मकवानपुर, यहाँ स्थित बिभिन्न पालिका, बिभिन्न सामुदायिक वनहरू, मध्यवर्ति सामुदायिक वन, फेकोफन, मध्यवर्ती सामुदायिक वन उपभोक्ता महासंघ NTNC, WWF, ZSL, IUCN लगायत संरक्षणमा कार्यरत संघसंस्थाको संयुक्त साझेदारीमा मनाउन लागिएको हो ।

दिवसका अवसरमा फाल्गुन ४ गते जिल्ला समन्वय समितिको सभाहलमा हलमा सालक संरक्षणमा कार्यरत समुह, वनका कर्मचारी, बिज्ञ, संचारकर्मी लगायत सरोकारवालाहरुको सहकार्यमा पेङ्गुइन राउण्ड टेवबल कार्यक्रम आयोजना हुने डिभिजन वन कार्यालय राप्तीका प्रमुख बिष्णु प्रसाद आचार्यले जानकारी दिए ।

त्यस्तै फाल्गुन ५ गते डिभिजन वन कार्यालय राप्तीको प्राङ्गण मनहरीमा बागमती प्रदेशका वन तथा वाताबरण मन्त्री, जिल्ला समन्वय समिति प्रमुखलगायत स्थानीय तहका जनप्रतिनिधि, वन मन्त्रालय लगायत अन्य सरोकारवालाको उपस्थितीमा मुल कार्यक्रम गर्नुका साथै सालक संरक्षण सम्बन्धि गीत लोकार्पण हुने छ ।

स्थानीय समुहद्वारा सालक संरक्षणको लागि तयार गरिएको खैजडी भजन सहितको नृत्य कार्यक्रम, कबितावाचन, सालक सम्बन्धि फेस पेंटिंग, चेतनामुलक बृतचित्र प्रदर्शन, सालकको मुकुण्डो सहित प्रदर्शनलगायतको कार्यक्रम आयोजना हुने उनले बताए ।

यस्तै फाल्गुन ६ गते लामो समय देखि सालक संरक्षणमा भूमिका खेल्दै आएको मकवानपुरको रानी र चुच्चेखोला सामुदायिक वनका उपभोक्तासंग छलफल कार्यकर्मको आयोजना गरिने आचार्यले बताए । विश्वभरि ८ प्रकारका सालक पाइन्छ । जसमध्ये नेपालमा २ प्रकारका कालो (चाइनिज प्यान्गोलिन) र तामे सालक (इन्डियन प्यान्गोलिन) पाइन्छ । मकवानपुरमा दुवै प्रकारको पाइने बिश्वास गरिएको छ ।

उनका अनुसार मकवानपुरको रानी, चुच्चेखोला लगायत केहि सामुदायिक वनमा सालक संरक्षणका केहि काम भएता पनि अन्यत्र कहाँ के कति छन यकिन तथ्यांक छैन । तर डिभिजन वन कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार मकवानपुरका करिव १०० वटा सामुदायिक वनमा यसको दुलो फेला परेको उनले बताए ।

सालक संरक्षणको लागि जिल्ला स्तरको कार्ययोजना बनाउने तयारी गरिएको र सालकलाई मकवानपुरको गौरबको प्राणि घोषणा गर्ने अभियानमा रहेको समेत उनले बताए । जसका लागि सबै सरोकारवालालाई समन्वय र सहजिकरण गर्न उनले आग्रह समेत गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*