पर्यटकलाई आकर्षित गर्न सिमभन्ज्याङमा निर्माणधीन सात ताल

तामसालिङ खबर
३ फाल्गुन २०७९, बुधबार १४:५४

फाल्गुन, हेटौडा (थाहा नगर) – बागमती प्रदेश सरकारको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मकवानपुर मार्फत थाहानगरको सिमभन्ज्याङमा सातवटा ताल निर्माणाधीन रहेको छ ।

पहिलो चरणमा करुणाभूमि सामुदायिक वन समिति मार्फत पर्यटकहरु तालको बीचमा पुगेर अवलोकन गर्न सकिने गरी भौतिक संरचना निर्माण भएको समितिका अध्यक्ष विनोद लामाले बताउनुभयो । प्रदेश सरकारको ७२ लाख ६९ हजार रुपैयाँ लागतमा पहिलो चरणमा एउटा ताल निर्माण हुनेछ ।

तालको तल्लो आधार हात्तिपाइले निर्माण लगायतका काम सम्पन्न भएको हो । स्थानीय करुणाभूमि सामुदायिक वनको पहलमा वातावरणमैत्री र पर्यटक आकर्षित गर्ने उद्देश्यले ताल निर्माण प्रयास सुरु भएको समितिका अध्यक्ष लामाले जानकारी दिनु भयो ।

सामुदायिक वन समितिका अध्यक्ष विनोद लामाले १० वर्ष अघिबाट गरिएको प्रयास र पहलले सार्थकता पाउन लागेको बताउँदै पहिले तारजाली र ढुंगामाटोको बाँध निर्माण गर्दा स्थायी नभएका कारण पक्की पर्खाल निर्माण गर्न लागेको बताए । थाहा नगरपालिकाको ३ लाख र स्थानीय विकास मन्त्रालयबाट आएको साढे ७ लाख रुपैयाँबाट छड र सिमेन्ट प्रयोग नगरी वातावरण र पर्यावरणमैत्री निर्माण गरेको संरचना वर्षाले क्षति पु¥याएको बताउँदै पानीको मूल निर्माणाधीन ताल सँगै रहेकाले पानी अभाव नहुने लामाले बताए ।

पानी जम्मा गरी ताल बनाउन प्रस्तावित तालमा हात्तिपाइले बाहेकको तीन मिटर उचाइको बाँध निर्माण गरिनेछ । पक्की बाँध निर्माणपछि करिब सय मिटर लम्बाइभन्दा बढी क्षेत्रफलको तालमा पानी संकलन हुनेछ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मकवानपुरका अनुसार निर्माणाधीन तालको माथि थप पाँचवटा र तल एउटा ताल बनाउने योजना रहेको छ । दामन-पालुङ क्षेत्रमा पछिल्लो समय पर्यटक आउनेक्रम घटेको बताउँदै ताल निर्माण सम्पन्न भएपछि पर्यटकीय गन्तव्य बन्ने अध्यक्ष लामाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*