राक्सिराङमा कृषि हाटबजार शुरु: स्थानीय उत्पादनको प्रबर्द्धन र बजारीकरण हुने (फोटो फिचर)

तामसालिङ खबर
२ फाल्गुन २०७९, मंगलवार ०७:०६

फाल्गुन, हेटौडा (राक्सिराङ) – राक्सिराङ गाउँपालिकाको चैनपुरमा स्थानीय उत्पादनको प्रबर्द्धन र बजारीकरण गर्ने उद्देश्यले सोमबारबाट कृषि हाट बजार शुरु भएको छ । पालिकाको कार्यालय नजिक चैनपुर बगर छेउमा निर्माण गरेको स्टलहरुमा हाट बजार शुरुवात गरिएको हो ।

हाटबजारको उद्घाटन समारोहको प्रमुख अतिथि समेत रहनु भएका बागमती प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले गर्नु भएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै संसद बानियाँले स्थानीय उत्पादनलाई प्रबर्द्धनका लागि स्थानीय कृषि, रैथाने बालि, पशुपालन र मौलिक उत्पादनको बिक्री प्रबर्द्धनको लागि पालिकाले महत्वपूर्ण भूमिका निर्बाह गरेकोमा खुसी ब्यक्त गर्नु भयो।

हाट बजारमा स्थानीय चेपाङ तथा तामाङ समुदायका परम्परागत खानेकुराहरु गिट्ठाको चिप्स, उसिनेको गिट्ठा, तरुल, रैथाने उत्पादन फापर, कोदो, गहत लगायत चिउरीको मह, आरनमा निर्मित फलामका भाँडाकुँडा जस्ता स्थानीय उत्पादनहरु बिक्रीका लागि राखिएका थिए । स्थानीय किसानले उत्पादन गरेका विभिन्न तरकारी सहितका २० वटाभन्दा बढी स्टल राखिएको थियो ।

हाट बजारको उद्घाटन समारोहमा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति, जातीय पहिचान झल्कने सांस्कृतिक झाँकी तथा नृत्य प्रदर्शन गरिएको थियो । हाट बजार व्यवस्थापन समितिका संयोजक सन्तोष थापाका अनुुसार अब हरेक महिनाको १ र १५ गते चैनपुरमा हाट बजार सञ्चालन गरिनेछ ।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको हाट बजार उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, उपप्रमुख सानुकाजी लुईटेल, बागमती प्रदेशका निवर्तमान भौतिक पूर्वाधार राज्यमन्त्री सन्तबहादुर प्रजा, निबर्तमान प्रदेश सभा सदस्य ओमबहादुर ग्लान, नेकपा एमाले राक्सिराङ अध्यक्ष सिंगराम रुम्बा, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति नारायण सुवेदी, सुक्ष्म पुष्प समाजका तर्फबाट बिशुमान प्रजा, ५ नम्बर वडाध्यक्ष हरिबहादुर प्रजा लगायतले मन्तव्य व्यक्त गरेका थिए । उद्घाटन कार्यक्रममा पालिका उपाध्यक्ष बनस्तम थिङले स्वागत गर्नु भएको थियो।

हाट बजार सञ्चालनका लागि गैरसरकारी संस्था जन वकालत मञ्च, दिगो विकासका लागि एकता नेपाल, नारी सीप सिर्जना केन्द्र, बिघ्नहर्ता नेपाल, सुक्ष्म पुष्प समाज तथा स्थानीय सहकारीहरुले सहकार्य गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*