साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल पराजित

तामसालिङ खबर
२६ माघ २०७९, बिहीबार २१:०४

माघ, काठमाडौं – साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपाल पराजित भएको छ। बिहीबार घरेलु टिम बंगलादेशसँग ३-० गोलले पराजित भएसँगै नेपाल उपविजेतामै सीमित हुन बाध्य भयो।

नेपाल दोस्रो पटक उपविजेता बनेको हो । सन् २०१८ मा भएको पहिलो संस्करणमा पनि नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

चार राष्ट्र सहभागि च्याम्पियनसिपको पहिलो खेलमा पनि नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको थियो । बिहीबार भएको फाइनलमा बंगलादेशले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गर्‍यो । ४२औं मिनेटमा साहेहेदा अख्तर रिपाले गोल गर्दै अग्रता दिलाइन् ।

पहिलो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा कप्तान साम्सुन्नाहारले गोल गर्दै अग्रता दोब्बर पारिन् । दुवै गोलमा नेपालको डिफेन्सको गल्ती थियो ।

पहिलो गोलमा नेपाली डिफेन्सले क्लियर गर्न नसकेको बलमा रिपाले पेनाल्टी बक्सको एजबाट प्रहार गर्दै गोल गरिन् । काउन्टर अट्याकमा प्राप्त बलमा नेपाली डिफेन्सले क्लियर गर्न नसक्दा साम्सुन्नाहारले अगाडि बढाउँदै पेनाल्टी बक्स भित्रबाट गोल गरिन् ।

दोस्रो हाफमा नेपालले सुरुमै गोल गर्ने अवसर गुमायो । ५०औं मिनेटमा अमिसा कार्कीको क्रसमा सुनकला राईले पेनाल्टी बक्स भित्रबाट गोल गर्न सकिनन् । ७९औं मिनेटमा पनि नेपालले गोल गर्ने अवसर पाएको थियो । तर अमिसा कार्कीको प्रहार बंगलादेशी किपर रुपना चक्माले बचाइन् ।

८७औं मिनेटमा बंगलादेशका लागि उनोती खातुनले गोल गरिन् । रिपाको फ्रिकिकमा उनोती खातुनले पोष्ट नजिकैबाट गोल गरिन् । राउण्ड रोविन लिगको अन्तिम खेलमा भारतमाथि ३-१ को पुनरागमन जित निकाल्दै फाइनलमा स्थान बनाएको नेपालले बंगलादेश विरुद्ध लय कायम राख्न सकेन ।

फाइनलमा नेपालले पनि गोल गर्ने तीन राम्रा अवसर गुमाएको थियो । घरेलु दर्शक र मैदानको साथ पाएको बंगलादेशले भने उत्कृष्ट लय कायम राख्दै तेस्रो पटक च्याम्पियन बनेको हो । बंगलादेशले यसअघि २०१८ र २०२१ मा उपाधि जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*