रासायनिक मल नपाउँदा कृषकहरु चिन्तित

तामसालिङ खबर
२४ माघ २०७९, मंगलवार १८:४७

माघ, हेटौडा (थाहा नगर) – पर्याप्त रासायनिक मल नपाउँदा मकवानपुरका थाहा नगर लगायत अन्य स्थानीय तहका कृषकहरु चिन्तित छन् । बेमौसमी तरकारी खेतीको लागि पहिचान बनाएको थाहा नगरका कृषकहरु जसोतसो खेती गरिएपनि मल अभावले उत्पादन नहुने भएपछि चिन्तित भएका हुन् ।

‘खेती त जसोतसो गरिएला तर मल नै पाइँदैन । मल पाइहाले पनि दोब्बरभन्दा बढी मूल्य तिर्नुपर्छ ।’, थाहा ३ का कृषक सरोज कार्कीले दुखेसो पोखे । उनी जस्तै मकवानपुर जिल्लाका अधिकांश किसानले रासायनिक मल नपाउँदा हैरान भएका छन् ।

रासायनिक मल नहाली तरकारी उत्पादन नहुने हुनाले किसानहरु खेती लगाउने कि नलगाउने दोधारमा परेका छन् । यतिबेला थाहाका किसानलाई आलु, काउली, बन्दा अन्य बालीका लागि ठूलो परिमाणमा रासायनिक मल आवश्यक छ । ‘दिनभरि लाइनमा बस्यो १० किलो रासायनिक मलका पाईन्छ । हामीलाई कम्तीमा चार बोरा मल चाहिएको छ ।’ कृषक बिजय अधिकारीले बताउनुभयो ।

बिगत २ बर्षदेखि रासायनिक मलको अभाव भएकोले कृषकहरुले सोचेजति उत्पादन लिन सकेका छैनन् । किसानले समयमै मल, बीउबिजन, कृषि औजार तथा उपकरणसमेत नपाउने अवस्था छ । खेतीको समयमा मल तथा बीउ अभाव सामान्य भइसकेको छ ।

रासायनिक मल किन्न बिहानैदेखि सहकारी संस्था कुरेर बस्नुपर्ने किसानको दैनिकी नै बनेको छ । सरकारले समयमै आपूर्ति व्यवस्थालाई सहज बनाउन ध्यान नदिँदा किसान मारमा परेका छन् । खेतीबारीमा व्यस्त हुने किसान दिनभर मलको खोजीमा भौँतारिरहन परेको छ ।

थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले थाहा नगरमा एकै सिजनमा तीन पटकसम्म तरकारी उत्पादन हुने भएकोले प्रदेश सरकारले निर्धारण गरेको कोटाले मात्रै नपुग्ने हुँदा मलको बितरण प्रणालीलाई पुनः बिचार गर्नुपर्ने बताउनुभयो । उहाँले थाहा नगरको लागि मलको कोटा बढाउनको लागि बागमती प्रदेश सरकारको मूख्यमन्त्री र कृषि तथा पशुपंक्षी मन्त्रालय समक्ष अनुरोध गरिएको बताउनुभयो ।

बागमती प्रदेशका लागि यस आर्थिक बर्षमा १४ हजार ८६ मेट्रिकटन रासायनिक मल प्राप्त भएको कृषि सामग्री कम्पनी लिमिटेडको बागमती प्रादेश कार्यालय हेटौंडाका प्रादेशिक प्रबन्धक प्रकाश चन्द्र ज्ञावलीले बताउनुभयो । उहाँले अनुसार बागमती प्रदेश कृषि मन्त्रालयले निर्धारण गरे अनुसार स्थानीय तहको सिफारिस अनुसार मलको बितरण गरिने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*