बागमती प्रदेशका किसानले दुधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

तामसालिङ खबर
१८ माघ २०७९, बुधबार १७:४८

माघ, हेटौडा – बागमती प्रदेश सरकारले सहकारी मार्फत दुध बिक्री गर्ने किसानलाई एक लिटरमा ५ रुपैयाँ अनुदान दिने भएको छ ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका निमित्त निर्देशक डा. बज्रकिशोर ठाकुरका अनुसार, त्यसका लागि दुग्ध उत्पादक कृषि सहकारी संस्थाहरुबाट आवेदन संकलन गरी अध्ययन गरिरहेको छ ।

प्रदेशको ३ वटा जिल्लाको आवेदन प्राप्त हुन बाँकी भएको भन्दै उनले त्यसको समेत अध्ययन गरेर फागुन मसान्त भित्रमा सबै सहकारीलाई अनुदान रकम प्रदान गर्ने बताए।

बागमतीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुधमा अनुदान दिन यो वर्ष ३० करोड रुपैयाँ बजेट छुट्याएको छ । सरकारले अनुदान रकम सहकारीलाई दिने र सहकारीले किसानलाई दिनेछ ।

मासिक १ हजार ५ सय लिटर दुध संकलन गर्ने र वार्षिक कम्तिमा २ सय दिन दूधको कारोबार गर्ने दुग्ध उत्पादन सहकारी मात्र अनुदान कार्यक्रममा सहभागी हुन पाउँछन् । बागमती सरकारले २०७६ सालदेखि दुधमा नगद अनुदान दिंदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*