प्रेस सेन्टर बागमती प्रदेश समितिद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

तामसालिङ खबर
१८ माघ २०७९, बुधबार ०७:३८

माघ, हेटौंडा – प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिले बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीहरुलाई सम्मान गरेको छ । समितिले प्रदेश राजधानी हेटौंडामा माओवादी केन्द्रबाट सरकारको नेतृत्व गरेका मुख्यमन्त्री र मन्त्रीहरुलाई मंगलबार सम्मान सहित अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

समितिले बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधार विकास मन्त्री युवाराज दुलाललाई सफल कार्यकालको शुभकामना सहित सम्मान गरेको हो । सोही अवसरमा समितिले अन्तरक्रिया पनि गरेको थियो ।

कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले समाजको सच्चा पहरेदारको रुपमा रहेका पत्रकारहरुको क्षमता विकास र मिडिया प्रवर्द्धनमा प्रदेश सरकार र आफुहरु प्रतिवद्ध रहेको बताए । उनले सञ्चारको विकास र संरक्षणमा प्रदेश सरकार सधै तयार रहेको उल्लेख गर्दै सञ्चार क्षेत्रले पनि सरकारलाई सहयोग गर्न आग्रह गरे।

कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णुु सापकोटा (जुगल), प्रेस सेन्टरका उपाध्यक्ष तथा वागमती प्रदेश इञ्चार्ज लक्ष्मण खड्का, प्रदेशका सञ्चार रजिष्टार रेवती सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछाने, मानकुमारी पाख्रिन, प्रेस सेन्टरका उपाध्यक्ष निर्मल ज्ञावाली, प्रेस सेन्टरका सचिव सुनिल खड्का लगायतको आतिथ्यता रहेको थियो।

प्रेस सेन्टर बागमती प्रदेश अध्यक्ष यदुनाथ गौतमको अध्यक्षतामा सम्मान तथा अन्तरक्रिया कार्यक्रम भएको थियो । प्रदेश समिति महासचिव ध्रुव अधिकारीले सहजीकरण गरेको कार्यक्रममा सेन्टरका प्रदेश सचिव ध्रुवचन्द्र खड्काले स्वागत मन्तव्य राखेका थिए।

प्रेस सेन्टर नेपाल वागमती प्रदेशको बैठक पनि हेटौंडामा सोमबार बसेको छ । बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको महासचिव अधिकारीले जानकारी दिए । बैठक तथा कार्यक्रममा प्रेस सेन्टर अन्तरगत बागमती प्रदेशका १० जिल्लाका अध्यक्ष, प्रदेशसमितिका पदाधिकारी र केन्द्रीय नेतृत्वको सहभागिता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*