बागमती प्रदेशमा मत्रालयको संख्या घटाउने तयारी, आज प्रतिबेदन बुझाउदै

पत्रपत्रिकाबाट
१० माघ २०७९, मंगलवार ०७:४४

माघ, हेटौडा – बागमती प्रदेशमा मन्त्रालयको संख्या १४ बाट घटाएर ११ बनाउने तयारी छ । प्रदेश सरकारका मुख्यसचिव मुकुन्द निरौला संयोजक रहेको कार्यदलले मन्त्रालयको संख्या ९ वा ११ कायम हुने गरी प्रतिवेदन तयार पारेको छ ।

उक्त प्रतिवेदनका आधारमा सरकारले मन्त्रालयको टुंगो लगाउनेछ। समितिले सोमबार प्रतिवेदन बुझाउने तयारी गरे पनि मुख्यमन्त्री शालिकराम जम्कट्टेल हेटौंडा आउन ढिलाइ भएकाले आज बुझाउने तयारीमा रहेको छ ।

‘हामी मोटामोटी ११ मन्त्रालय बनाउने तयारीमा छौैं । कार्यदलको प्रतिवेदन आएपछि हामी शुक्रबारसम्म टुंगो लगाउँछौं’, प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले भने । मुख्यमन्त्री जम्कट्टेलले मन्त्रालयको संख्या ११ रहने र राज्यमन्त्री नराखिने बताएका छन् ।

मुख्य सचिव निरौलाका अनुसार समितिले ११ मन्त्रालय बनाउँदा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालय गाभ्ने र सामाजिक विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय गाभ्ने, संस्कृति तथा पर्यटन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय गाभ्ने प्रस्ताव गरिएको छ। हाल भूमि व्यवस्था गरिबी निवारण तथा सहकारी मन्त्रालयमा रहेको सहकारी भने उद्योग मन्त्रालयअन्तर्गत रहने गरी प्रस्ताव गरिएको छ ।

११ मन्त्रालय हुँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्रालय, वन तथा वातावारण मन्त्रालय, संस्कृति, पर्यटन तथा उद्योग मन्त्रालय, खानेपानी तथा सिँचाइ मन्त्रालय, कृषि, पशुपन्छी तथा भूमि मन्त्रालय, स्वास्थ्य मन्त्रालय र सामाजिक, युवा तथा खेलकुद मन्त्रालय रहने समितिको प्रतिवेदन छ ।

समितिले ९ मन्त्रालय रहँदा तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पालामा रहेको ८ मन्त्रालयलाई कायम राख्ने र अन्य एक मन्त्रालय गठन गर्ने प्रस्ताव तयार पारेको छ। तत्कालीन समयमा रहेको ८ मन्त्रालयमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई टुक्र्याएर वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा संस्कृति मन्त्रालय बनाउन समितिको प्रस्ताव छ।

मुख्यमन्त्री जम्कट्टेलले कार्यभार सम्हाले लगत्तै पुस २६ गते पहिलो निर्णय मन्त्रालयको संख्या घटाउने गरेका थिए। तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डेले सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा मिलाउन मन्त्रालयको संख्या ८ बाट १४ बनाएका थिए । – अन्नपुर्ण पोष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*