छिमेकी देशमा कोरोनाको नयाँ संक्रमण देखापरे संगै स्वास्थ्य मापदण्ड पालना गर्न मकवानपुर प्रशासनको अनुरोध

तामसालिङ खबर
१२ पुष २०७९, मंगलवार ०७:५४

पुष, हेटौडा – जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै कोभिड-१९ को संक्रमण छिमेकी देशहरूमा बढ्न थालेकाले नेपालमा पनि यसको असर पर्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरेको हो ।

कोभिडको प्रभाव नेपालमा कम भएतापनि विश्वव्यापी रूपमा छिमेकी राष्ट्र लगायत केही देशहरूमा संक्रमणको नयाँ स्वरूप (भेरिएन्ट ) देखापरेको र सो को जोखिम तथा असर नेपालमा पनि पर्नसक्ने अवस्थाप्रति सजग हुन आवश्यक रहेको सूचनामा उल्लेख गरिएको छ ।

कोभिड-१९ संक्रमणको जोखिम तथा असरबाट सुरक्षित रहन बढी भिडभाड हुने स्थानहरूमा नजान, सार्वजनिक यातायातका साधन तथा बढी भिडभाड हुने स्थानहरूमा जानु पर्दा अनिवार्य रूपमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न अनुरोध गरेको छ ।

यसैगरी ‘एक अर्कामा भौतिक दूरी कायम राख्ने लगायतका जनस्वास्थ्यका मापदण्डहरूको पूर्ण रूपमा पालना गर्नु, गराउन हुन सबैमा अनुरोध छ ।’ सूचनामा भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेद्वारा जारी सूचनामा बुस्टर डोजको मात्रा लगाउन छुट हुने सबैले नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी उक्त खोप लगाउन हुन समेत अनुरोध गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*