कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेता छान्न निर्वाचन हुने

तामसालिङ खबर
६ पुष २०७९, बुधबार ०९:२५

पुष, हेटौडा – नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ । कांग्रेस बागमती प्रदेशको मंगलबार बसेको कार्य सम्पादन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश संसदीय दलको नेताको निर्वाचनका लागि समितिसमेत गठन गरेको छ । कांग्रेस बागमती प्रदेश समितिका उपसभापतिसमेत रहेका चन्द्र महर्जनको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको प्रवक्ता तिलक रुवालीले जानकारी दिए ।

समितिले दलको नेता चयनका लागि आवश्यक प्रक्रिया पूरा गर्ने प्रवक्ता रुवालीले बताए । समितिको सदस्यहरूमा महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराम घिमिरे, सदस्य गंगा दाहाल र सदस्य सानु श्रेष्ठ रहेका छन् । उक्त समितिले मंगलबारदेखि आफ्नो जिम्मेवारीमा रहेर निर्वाचनको प्रक्रिया सुरु गर्ने उनको भनाइ छ ।

बैठकले संसदीय दलको नेता चयन प्रक्रिया भने केन्द्रको संसदीय दलको निर्वाचनपछि मात्रै गर्ने निर्णय गरेको छ । बागमती प्रदेशको संसदीय दलको नेता चयनका लागि केन्द्रीय कार्यक्रम सकिएपछि मात्रै चयन प्रक्रिया सुरु गर्ने र मिति तय गर्ने निर्णय भएको प्रवक्ता रुवालीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*