उम्मेदवार बानियाँले भने, मंसिर ४ मा गणतन्त्र बचाउने र सिध्याउने बिचको महासंग्राम हुन्छ

तामसालिङ खबर
२३ कार्तिक २०७९, बुधबार २१:१५

कार्तिक, हेटौंडा (राक्सिराङ) – मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर २ (ख) लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले आगामी मंसिर ४ गते मुलुकमा गणतन्त्र बचाउने र सिध्याउने बीचको महासंग्राम हुने बताएका छन् ।

निर्वाचनको प्रचार-प्रसार कार्यक्रम अन्तर्गत गठबन्धनले बुधबार राक्सिराङमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचन व्यवस्था, संविधान र गणतन्त्र सिध्याउने र बचाउने बिचको लडाई भएको बताए । गणतन्त्र, संविधानको रक्षाको पक्षधर लोकतान्त्रिक बाम गठबन्धन भएका कारण सो गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सबै मतदाताहरुलाई बानियाँले आग्रह गरे ।

अब बन्ने गठबन्धनको सरकारको एकमात्र उद्देश्य भनेको जनताको अवस्था परिवर्तन गर्नु भएको उनले बताए । उनले लोपोन्मुख चेपाङ, बोटे जनजाती एवम् सबै जाती समुदायको विकास गरिने बताए । गठबन्धनको सरकार बनेपछि युवाहरुलाई उत्पादन र रोजगारीको व्यवस्था गरिने बताए ।

केपी ओली नेतृत्वको नेकपा एमाले भ्रष्टाचारीको अखडा र नक्कली कम्युनिष्ट रहेको बताउँदै उनले भने, ‘ओली नेतृत्वको कम्युनिष्ट नक्कली हो । सक्कली कम्युनिष्ट त माओवादी, समाजवादी, जनमोर्चा हुन् । हामी लोकतान्त्रिक बाम गठबन्धनमै छौँ ।’ उनले प्रदेशमा गठबन्धनको सरकार बनेपछि १० महिनामै राक्सिराङमा मात्रै ३५ करोडभन्दा बढी रकम सडक, खानेपानी तथा पूर्वाधार निर्माणको छुट्याइएको बताए ।

माओवादी केन्द्र राक्सिराङ गाउँपालिका ४ का सहइन्चार्ज मधुलाल थिङको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजाराम स्याङतान, कांग्रेस बागमती प्रदेश प्रवक्ता तिलक रुवाली, कांग्रेस बागमती प्रदेश सदस्य सन्तबहादुर चेपाङ, माओवादी केन्द्र बागमती प्रदेश सदस्य ओमबहादुर ग्लान, कांग्रेस मकवानपुरका सचिव भीमसेन महत, कांग्रेस नेता राजकुमार मल्ल, माओवादी केन्द्र बागमती प्रदेश सदस्य बनस्तम थिङ, माओवादी केन्द्र राक्सिराङ ४ का ईन्चार्ज भीमलाल थिङ, माओवादी केन्द्रका जिल्ला सदस्य हस्तबहादुर मोक्तान, कांग्रेस मकवानपुर क्षेत्र नम्वर २ का संघीय सचिव सन्तोष थापा, नेकपा एकीकृत समाजवादी राक्सिराङका अध्यक्ष ज्ञानेन्द्र तामाङ, कांग्रेस राक्सिराङ गाउँपालिका सचिव कोपिला गोले, माओवादी केन्द्रका विश्वराज थिङ, कांग्रेस राक्सिराङ ४ का सभापति विकाश भ्लोन लगायतले मतव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*