३४ प्रजातिको बहुउपयोगी रैथाने माछा संकटमा

‘माछा प्रबर्द्वनका लागि हरेक बर्ष बजेट आउछ, तर बिकासेका लागि वा रैथानेका लागि भनेर तोकिएर हुदैन, यसका लागि नितिगत तयारी हुनुपर्छ’
ज्ञानेन्द्र तामाङ
२ कार्तिक २०७९, बुधबार १०:५३

कार्तिक, चितवन (भरतपुर) – चितवनको भरतपुर ११ का स्थानीय खोपनारायण श्रेष्ठ एक दिन घर नजिकै रहेको टाइगर ताल पुगे । सो तालमा स्थानीय प्रजातिका (लोकल) माछा पाइन्छ भन्ने सुनेर पुगेका उनले तालमा जे देखे त्यसले उनलाई दुखी बनायो ।

उनले देख्दा ताल फोहोर र अव्यवस्थित थियो । जहाँ मानिसहरुले जथाभावी माछा मार्ने, फोहर गर्ने गरेको उनले देखे । ताल रहेको नवजागृति सामुदायिक वन उपभोक्ता समुहले ताललाई माछापालनका लागि ठेक्कामा लगाएको थियो ।

राइनाे ताल । फाेटाे: ज्ञानेन्द्र तामाङ

कृषि तथा वन बिश्वविद्यालय रामपुरबाट मत्स्य विज्ञान (फिसरिज) मा एमएस्सी गरेका श्रेष्ठ माछाबारे गहिरो चासो राख्थे । तालमा प्रशस्त स्थानीय माछा पाइन्छ भन्ने सुनेका उनले अव्यवस्थित ताल देखेपछि त्यहाँ रहेका माछाको जीवन नै संकटमा परेको पाए ।

माछाको जैविक विविधता, बिकास र संरक्षणबारे चासो राख्ने श्रेष्ठलाई सो ताल, त्यहाँको माछा र अन्य जलचरको संरक्षणका लागि केहि गर्नुपर्छ भन्ने लाग्यो ।

‘अव्यवस्थित ताल देखेपछि त्यो तालसँगै तालमा रहेको जलचरहरुको संरक्षण गर्नुपर्छ भन्ने ठानेँ र एक परियोजना चलाउने निर्णय गरेँ’ – उनले भने । उनले समाजिक तथा वातावरणीय क्षेत्रमा काम गर्दै आएको संस्था एमडिआइ नेपालमार्फत परियोजना चलाए ।

सो परियोजनाअन्तर्गत २ बर्ष लगाएर टाइगर ताल, राइनो ताल र आसपासका केही सिमसार क्षेत्रहरुमा माछाको जैविक विविधताबारे अध्ययन गर्दा नेपालकै लागि सुखद नतिजा प्राप्त भएको छ ।

‘हामीले जुलाई २०१८ देखि दुई बर्षसम्म माछाको जैविक विविधताबारे अध्ययन गर्यौ, सोच्दै नसोचेको उपलब्धि हासिल गरेका छौ’ – श्रेष्ठले भने ।

श्रेष्ठले भनेको उपलब्धि चाँही नेपालमै दुर्लभ अथवा लोप हुने अवस्थामा रहेको भनिएको विभिन्न प्रजातिका रैथाने माछाहरु राइनो ताल, टाइगर ताल, खगेरी खोला, रामपुर घोल लगायत क्षेत्रमा प्रशस्त मात्रामा पाइनु हो । ‘यी माछाहरु नेपालमै दुर्लभ माछाहरु हुन, चितवनमा प्रशस्त मात्रामा यी माछाहरु पाइन्छ भन्ने हामीले कल्पना नै गरेका थिएनौ’ – उनी भन्छन ।

टाइगर ताल र राइनो तालमा त्यसरी प्रशस्त भेटिएका माछा मारा प्रजातिका हुन । माछाविज्ञ एवं कृषि तथा वन बिश्वबिद्यालय रामपुरका मत्स्य विज्ञान संकायका उपप्राध्यापक राहुल रञ्जन यी प्रजातिका माछा चितवनमै भेटिएपछि छक्क परे ।

‘रामपुरमा हामीले अनुसन्धान गर्ने बेला मारा माछा बाहिरबाट मगाएका थियौ, चितवनमा पाइन्छ भन्ने नै थिएन, राइनो तालमा प्रशस्तै भेटिदाँ छक्कै परियो’ – उनले भने ।

उनका अनुसार नेपालमा अन्यत्र यो माछा खासै पाइदैन, चितवनमा धेरै पहिला पाइने भएपनि बिगत १० बर्षयताको अनुसन्धानमा यो माछा पाउन छाडिएको थियो । लोप भइसकेको ठानिएको दुर्लभ प्रजातिको माछा प्रशस्त भेटिनु जैविक विविधतामा नै महत्वपुर्ण उपलब्धि मान्छन उनी ।

रञ्जन स्वयंको नेतृत्वमा गरिएको अध्ययनमा मारा प्रजातिका माछा मात्रै हैनन्, दुर्लभ र उच्च पोषणयुक्त पोठी र ढेडुवासहित विभिन्न ३४ प्रजातिका माछा फेला परे । टाइगर तालसँगै र रामबेल सामुदायिक वनमा पर्ने राइनो ताल, पुर्वी चितवनमा पर्ने खगेरी खोला र पश्चिम चितवनमा पर्ने रामपुर घोलमा अध्ययन गरिएको हो ।

‘वातवरणीय रुपमा समान रहेको विभिन्न क्षेत्रमा अध्ययन गरेका हौँ, विभिन्न ३४ प्रजातिका रैथाने माछाहरु फेला पार्यौ’ – रञ्जनले भने ।

उनका अनुसार टाइगर तालमा २६ प्रजातिका, राइनो तालमा १५ प्रजातिका, खगेरी खोलामा १९ प्रजाति र रामपुर घोलमा सबैभन्दा धेरै २७ प्रजातिका स्थानीय रैथाने माछा भेटिएका हुन ।

‘संरक्षित क्षेत्रभित्र पर्ने टाइगर ताल, राइनो ताल खगेरी खोलासँगै संरक्षित क्षेत्रमा नपर्ने रामपुर घोललाई तुलना गर्न अध्ययन गर्यौ’ – उनी भन्छन – ‘मानिसको प्रभाव बढि पर्ने र नजिकै माछा पाल्ने पोखरी भएको ठाँऊ रामपुर घोलमा पनि प्रशस्त स्थानीय रैथाने माछा भेटियो ।’

उस्तै किसिमको वातावरण हुने भएकाले चितवनसँगै मकवानपुर र नवलपरासीका विभिन्न खोला तथा तालहरुमा समेत स्थानीय रैथाने प्रजातिका माछा प्रशस्त भेटिने उनी बताउँछन ।

उच्च पोषणयुक्त : बालबालिका र गर्भवतीलाई अति उपयोगी
नेपालका खोला नाला र घोल नदिहरुमा पाइने स्थानीय रैथाने माछाहरु पोषणको दृष्टिकोणको उच्च पोषणयुक्त माछा हुन ।

खादाँ स्वादिलो हुने यी माछाहरु पौष्टिक रुपमा पनि अन्य विकासे माछा वा बिदेशबाट आयातित माछाभन्दा उच्च पोषणयुक्त भएको वर्ल्ड फिसका पोषणविज्ञ सकुन्तला थिल्स्टेडको अध्ययनले पुष्टि गरेको छ ।

स्थानीय रैथाने माछाहरुमा भिटामिन ए, आइरन, जिंक तथा क्याल्सियम उच्च मात्रामा पाइन्छ । टाइगर तथा राइनो ताल आसपासमा भेटिएका मारा, पोठी, डेढुवालगायत रैथाने माछाहरुमा पनि यी तत्वह्ररुको मात्रा निकै उच्च छ ।

पोषणविज्ञ थिल्स्टेडका अनुसार मारा माछामा भिटामिन ए अति उच्च मात्रामा पाइन्छ । डेढुवामा १०७.५ आरएइ प्रति सय ग्राम, फकेटामा ८४.५ आरएइ प्रति सय ग्राम र पोठीमा ५६ आरएइ प्रति सय ग्राम भिटामिन ए पाउँदा मारामा भने ६८५.५ आरएइ प्रति सय ग्राम भिटामिन ए पाइन्छ । नैनी, सिल्भर कार्पजस्ता माछामा निकै कम मात्रामा भिटामिन ए पाइन्छ ।

त्यस्तै यी माछाहरुमा जिंक लेभल पनि उच्च हुन्छ । डेढुवामा सबैभन्दा बढि ४.५ मि. ग्राम प्रति सय ग्राम जिंक पाइन्छ भने मारामा ४.३ मि. ग्राम प्रति सय ग्राम र पोठीमा ३.२ मि. ग्राम प्रति सय ग्राम जिंक लेभल हुन्छ । फकेटामा ३.६ मि. ग्राम प्रति सय ग्राम जिंक पाइन्छ भने नैनी तथा सिल्भर कार्पमा जिंक पाइदैन ।

आइरन लेभल पनि डेढुवामा निकै उच्च मात्रामा पाइन्छ । डेढुवामा ६.२ मि. ग्राम प्रति सय ग्राम आइरन लेभल पाइने अध्ययनले देखाउँछ । सिल्भर कार्प, मारा पोठीलगायतमा पनि उल्लेख्य मात्रामा आइरन पाइन्छ ।

यी माछाहरुमा क्याल्सियम पनि उल्लेख्य मात्रामा पाइन्छ । पोठीमा ११७१ मि. ग्राम प्रति सय ग्राम, मारामा ८६० मि. ग्राम प्रति सय ग्राम क्याल्सियम पाइन्छ । नैनी मा ९६० मि. ग्राम प्रति सय ग्राम र सिल्भर कार्पमा ९०३ मि. ग्राम प्रति सय ग्राम क्याल्सियम पाइन्छ ।

माछाविज्ञ रञ्जनका अनुसार माछामा प्रोटिन, खनिज, ओमेगा ३ जस्ता तत्व राम्रैसँग पाइन्छ । योसँगै भिटामिन ए, आइरन, जिंक र क्याल्सियमजस्ता पौष्टिक तत्व स्थानीय रैथाने माछामा उच्च मात्रामा पाइन्छ ।

त्यसैले बालबालिका, गर्भवति तथा सुत्केरी महिलाहरुका लागि बजारमा पाइने भिटामिन तथा आइरनको सट्टामा यीनै माछाका विभिन्न परिकार खुवाउन मिल्ने उनी बताउँछन ।

‘यी साना सिद्रा खालका माछा हुन्, सिद्रा सुकाएर त्यसको सबै भाग खाइन्छ । त्यसैले यसमा भएका सबै पोषक तत्व उपयोग हुन्छन’ – उनले भने ।

श्रेष्ठले पनि गर्भवती महिला र बालबालिकाका लागि यी माछा उपयोगी रहेको बताए । बंगलादेश र कम्बोडियामा मारा माछालाई पोषणको रुपमा प्रयोग गरेका छन । माछाबाट पाउडर बनाएर गर्भवती महिला र २ बर्षसम्मका शिशुका लागि पौष्टिक आहारका रुपमा दिइने गरिएको उनले बताए ।

नेपालमा पनि उचित योजना निर्माण गरेर माछालाई पोषण सुधारको कार्यक्रममा समावेश गर्न सकिने उनी बताउँछन । ‘यसलाई चटनी बनाएर पनि खान सकिन्छ, त्यसैले नेपालमा यसको प्रयोग बढाउन सकिन्छ र हरेक भान्सामा पुर्याउन सकिन्छ’ – उनले भने ।

ब्यवसायिक उत्पादन पनि गर्न सकिने
स्थानीय प्रजातिको यी माछाहरुलाई व्यवसायिक रुपमा उत्पादन गरि बजारीकरण गर्न पनि सकिन्छ । कृषि तथा वन विश्वविद्यालय रामपुरकै अध्ययनले पनि यी माछाहरुलाई व्यवसायिक रुपमा पोखरीमा हालेर उत्पादन गरि विक्रि वितरण गर्न सकिने देखाएको छ ।

राइनो तालबाट भुरा संकलन गरि अन्यत्र पनि फैलाउन सकिने श्रेष्ठ बताउछन । ‘राइनो तालमा प्रशस्त मारा माछा छन, त्यहाँको माछालाई बिउको स्रोतका रुपमा लिएर अन्यत्र ब्यवसायिक पोखरीमा पनि पाल्न सकिन्छ, ठुला पोखरीमा अन्य ठुला माछा र मारा माछा एकै ठाउँमा हाल्दा पनि केहि फरक नपर्ने देखिएको छ’ – उनी भन्छन ।

मारा, सिद्रे पोठी तथा डेढुवामा अत्याधिक मात्रामा पोषक तत्वहरु पाइने हुनाले यी माछाहरुलाई अन्य कार्प माछाहरुसँग पोखरीमा पाल्न सकिन्छ । यसरी पाल्दा यी माछाहरुको संख्या पनि तिव्र रुपमा बृद्धि हुने अध्ययनले देखाएको छ ।

यो प्रविधिलाई कार्प सिस पोलिकल्चर (Carp-SIS Polyculture) भनिन्छ । यो प्रविधि बंगलादेशमा बिकास भएको हो । यहि प्रविधिमार्फत बंगलादेशमा ब्यवसायिक रुपमा स्थानीय प्रजातिका माछाहरुको उत्पादन गर्ने र ती माछाहरुलाई गर्भवती तथा सुत्केरी महिला र बालबालिकाहरुको पोषण सुधार कार्यक्रममा समावेश गर्ने गरिएको छ ।

मकवानपुर जिल्लाको हाँडीखोलाका सानुकान्छा तितुङको ७ वटा ठुला ठुला व्यवसायिक माछापोखरी छन । ती पोखरीमा ठुला खालका कार्प माछासँगै प्रशस्तै स्थानीय रैथाने माछा देख्न सकिन्छ ।

गाउँघरमा रैथाने माछा साना खोल्सा, घोल तथा खेतका गराहरुमा समेत पाइन्छ । तीनै माछाहरुलाई पोखरीमा ब्यवस्थित गराएर ब्यवसायिक उत्पादनको प्रयास तितुङले गरेका हुन ।

स्थानीय रैथाने माछा । फाेटाे: ज्ञानेन्द्र तामाङ

‘अहिले पोखरीमा उल्लेख्य मात्रामा लोकल माछाहरु छन्, पोखरीमा राख्दा लोकल माछाको संख्या छिटो बढदोरहेछ’ – उनी भन्छन् । नजिकको खोल्सा तथा घोलहरुबाट माछा आफै पनि पोखरीमा आउने उनले सुनाए । केहि भने राप्ती खोलाबाट संकलन गरेर पोखरीमा हालिएको हो ।

‘लोकल माछा कार्प माछाभन्दा महँगोमा बिक्रि हुन्छ, मसिनो सिद्रा खालको हुने भएकाले यसलाई पाउडर बनाएर बिक्रि गर्ने तयारी गरिरहेका छौ’ – माछाको व्यवसायिक बजारीकरणबारे उनी भन्छन । पोठी, फगेटा, भोटी, चुच्चेबाम, गर्दीलगायत लोकल माछा आफ्नो पोखरीमा रहेको उनले सुनाए ।

हाँडीखोलामा झन्डै २ सय वटा व्यवसायिक माछा पोखरी रहेको श्रेष्ठ बताउँछन । तीमध्य अधिकांस पोखरीमा कार्प सिस पोलिकल्चर (Carp-SIS Polyculture) प्रविधि मार्फत रैथाने माछा र अन्य माछा सँगै पालिएका छन । चितवनको खैरहनीको कठार र राप्तीको भण्डारामा पनि यहि प्रविधिअनुसार माछा पालिएको श्रेष्ठ बताउछन ।

संरक्षणकर्मीमा उत्साह, सरोकारवालाको चासो
लोप भइसकेको ठानिएको दुर्लभ माछाहरु राइनो ताल र आसापासमा प्रशस्त भेटिएपछि यसले संरक्षणकर्मीमा उत्साह थपेको छ ।

विभिन्न बिकासे तथा आयातित माछाले जैविक विविधतामा हानी पुर्याइरहेको हुन्छ । तर स्थानीय प्रजातिका रैथाने माछाहरु जैविक विविधता र वातवरणीय दृष्टिले महत्वपुर्ण मानिन्छन् ।

समग्र पारिस्थितिक प्रणलीमा समेत रैथाने माछाको भुमिका महत्वपुर्ण हुने विज्ञहरु बताउछन । यसर्थ यस किसिमका माछाको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा संरक्षणकर्मी र सरोकारवालाहरुको जोड छ ।

टाइगर ताल रहेको नवजागृति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष देव बहादुर गुरुङले पर्यटकीय प्रवद्र्धनका निम्ति ताल निर्माण गरिएको बताए ।

‘पहिले घोल जस्तो रहेको स्थानमा डुयाम लगाएर ताल निर्माण गरेका हौँ, बरन्डाभार क्षेत्रमा रहेकाले जनवारहरुको पानी खाने ठाँऊ हो यो’ – उनी भन्छन । यहि तालमा दुर्लभ माछाहरु फेला परेपछि आफुहरु उत्साहित रहेको उनले सुनाए । ‘अध्ययनबाट यहाँ महत्वपुर्ण दुर्लभ माछाहरु भेटिएको थाहा भयो, अब सबै मिलेर यसको संरक्षण गर्छौ’ – उनले थपे ।

रामबेल सामुदायिक वन उपभोक्ता समुहका पुर्वअध्यक्ष समेत रहेका संरक्षणकर्मी बेदबहादुर थापा भन्छन – ‘राइनो तालमा पहिलेबाटै विभिन्न किसिमका माछाहरु छन, यसमध्य मारा, पोठी र डेढुवा एकदमै दुर्लभ र पोषकपुर्ण माछा भएको हुनाले संरक्षण गर्नुपर्ने र व्यवसायिक बनाउनुपर्ने आवश्यकता छ ।’ माछाका भुराहरु विक्रि गरेर वनले आम्दानी लिन सकिने र अन्यत्र पनि यसको विकास गर्न सकिने उनको भनाइ छ ।

जिल्ला वन कार्यालय भरतपुरका सहायक वन अधिकृत बालकुष्ण खनाल वन क्षेत्रमा रहने हरेक खालका जीव तथा वनस्पति जैविक विविधताका निम्ति महत्वपुर्ण हुने बताउँछन् ।

‘टाइगर तथा राइनो तालमा पाइएका रैथाने माछा यहाँको जैविक विविधताको महत्वपुर्ण अंग हुन्, यसको संरक्षण र प्रबद्र्धन आवश्यक छ’ – उनी भन्छन । सरकारी निकाय तथा स्थानीय तहहरुबाट पनि विभिन्न कार्यक्रम निर्माण गरि रैथाने माछालगायत अन्य जैविक विविधता संरक्षणको काम हुनुपर्ने उनको धारणा छ ।

मत्स्य बिकास केन्द्र भण्डाराका प्रमुख माधव प्रसाद दहाल स्थानीय प्रजातिका माछा प्रबद्र्धनकै निम्ति भनेर बजेट प्राप्त नभएको बताउँछन् । ‘बेलाबखतमा लोकल माछा संरक्षण गर्नपर्छ भनेर चर्चा गर्ने गरिए पनि सरकारी तहबाट कार्यक्रम बनेर बजेट बिनियोजन भइ आएको छैन, हामीले अन्य विभिन्न ७ प्रकारका माछा प्रबद्र्धनमा काम गर्दै आएका छौ’ – उनी भन्छन ।

राप्ती खाेलामा माछा मार्दै स्थानीय । फाेटाे: खाेपनारायण श्रेष्ठ

बागमती प्रदेशको कृषि तथा पशुपंक्षी मन्त्रालय अन्तर्गत रहेका पशुपंक्षी तथा मत्स्य बिकास निर्देशनालयका निर्देशक ब्रज किशोर ठाकुरले पनि माछा प्रबद्र्धनमा बजेट रहे पनि स्थानीय रैथाने प्रजातिकै माछाका लागि तोकिएर नभएको बताए ।

‘माछा प्रबद्र्धनका लागि हरेक बर्ष बजेट आउछ, तर बिकासेका लागि वा रैथानेका लागि भनेर तोकिएर हुदैन, यसका लागि नितिगत तयारी हुनुपर्छ होला’ ‘ उनले भने । तर आगामी दिनमा स्थानीय प्रजातिका माछाको संरक्षण र प्रबद्र्धनमा लाग्न विभिन्न नितिगत कामहरु गर्न सकिने उनी बताउँछन ।

यसरी नेपालकै तालतलैया, खोल्सा तथा नदिहरुमा प्रशस्त भेटिने महत्वपुर्ण स्थानीय माछाहरुको संरक्षण्मा सबै पक्षको ध्यान जान जरुरी देख्छन माछाविज्ञ राहुल रञ्जन ।

‘माछा मार्न त मार्ने हो तर कुन बेला, कति मात्रामा मार्ने भने हिसाब हुनुपर्छ’ – उनी भन्छन् । जहाँ पायो त्यहि, जसले जसरी पनि माछा मार्नले जैविक विविधतामा महत्वपुर्ण मानिने स्थानीय माछाहरु लोप हुन सक्ने खतरा छ ।

विभिन्न तहका सरकारले समेत स्थानीय प्रजातिका माछाको संरक्षण र प्रबर्द्धन भुमिका खेल्नुपर्ने देखिन्छ । प्राकृतिक तालतलैया, खोल्सा, नदिको संरक्षण सँगै पोखरीमासमेत स्थानीय माछा पालनलाई प्रोत्साहन दिइ व्यवसायिक रुपमा उत्पादन गराउन सकिन्छ ।

प्रदेश सरकार तथा स्थानीय तहहरुले आफ्ना निति तथा कार्यक्रम निर्माणकै क्रममा स्थानीय माछाको संरक्षणका लागि विभिन्न कार्यक्रम समावेश गर्न सकिन्छ । यसरी स्थानीय माछाको संरक्षण गरि पर्याप्त उत्पादन गराउन सके अन्य बिकासे माछा तथा आयातित माछाभन्दा उपयोगी र फलदायी हुने देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*