जनताको न्याय र सेवाको लागि राजनीति गरेको हुँ – इन्द्रबहादुर बानियाँ

तामसालिङ खबर
२ कार्तिक २०७९, बुधबार ०७:३२

कार्तिक, हेटौंडा (मनहरी) – नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले आफूले जनताको न्याय र सेवाको लागि राजनीति गरेको भन्दै सदैव जनताकै काममा क्रियाशील हुने प्रतिवद्धता जनाएका छन् ।

मंगलबार मकवानपुरको मनहरी गाउँपालिकाका विभिन्न वडामा भएका पार्टीका अगुवा कार्यकर्ता भेलामा बोल्दै बानियाँले आफूलाई खान लाउनको लागि छुट्टै पेशा रहेको बताउँदै जनताको समस्या र पीरमर्कामा साथ दिनको लागि मात्रै राजनीति गरेको स्पष्ट पारे ।

‘अहिले राजनीतिलाई नै पेशा बनाएर जनताकै रगत पसिना चुस्नेहरु धेरै छन्, त्यस्तालाई चिन्न सक्नुपर्छ,’ बानियाँले भने-‘म त जनतालाई सेवा गर्न आएको हुँ, मलाई राजनीतिबाट कमाउनु छैन, कमाउनको लागि मैले छुट्टै पेशा गरिरहेको छु ।’ आगामी मंसिर ४ गते हुने निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनको औचित्य र आवश्यकताबारे पनि उनले स्पष्ट पारे । ‘गठबन्धन बाध्यता होइन, आवश्यकता हो । कुरै कुराको समृद्ध नेपाल भन्नेले काम गरेनन् । संविधान नै मास्ने खेलमा लागे । तसर्थ प्रतिगामी शक्तिविरुद्धको गठबन्धनलाई जनताले विश्वास गर्नेछन् ।’ बानियाँले भने ।

एमालेको नीति र नेता गलत भएको आरोप लगाउँदै बानियाँले गठबन्धनले मात्र मुलुकमा विकास र समृद्धि दिन सक्ने बताए । आफू माटो र बाटो बुझेको उम्मेदवार भएको भन्दै यसअघि पनि जनताले जितेर पठाउँदा धेरै काम गरेको स्मरण गरे । यसअघि जिताएर पठाएको एमालेले काम गर्न नसकेको पछि आफूहरु बीचमै सरकारको नेतृत्व लिनुपरेको भन्दै उनले अब गठबन्धनलाई नै जनताले जिताएर पठाउने बताए । ‘अब गठबन्धन दलकै स्थायी सरकार बन्छ, हामीले छोटो समयमा सरकारको नेतृत्व गर्दा गाउँमा केके काम भयो, सबैलाई थाहै छ, पूरा हुन नसकेको कामहरु अब पूरा गरिन्छ ।’ बानियाँले भने ।

आफू निर्वाचित भएपछि जनताको नि:शुल्क स्वास्थ्य बिमा गर्नेदेखि गरिबहरुको घर बनाइदिने कार्यक्रम अघि सार्ने पनि उनले प्रतिवद्धता जनाए । कांग्रेस गरिबलाई धनी बनाउने पार्टी भएको भन्दै सबैलाई आय आर्जनसँग जोड्ने योजना रहेको पनि सुनाए ।

पार्टीभित्रि असन्तुष्ट भई अन्यत्र लागेकाहरुलाई पार्टीमै फर्कन पनि बानियाँले आग्रह गरे । ‘कोही घण्टी बोकेर हिँड्या छन् रे, कोही करुवा बोकेर हिँड्या छन् रे, मंसिर ४ पछि पश्चाताप गर्नुपर्ने दिन आउँछ । सानातिना कुरामा चित्त नबुझे पार्टीभित्रै बहस गरौं ।’ बानियाँले भने ‘परिस्थिति आफूअनुकुल नभएपछि मनस्थिति बिगार्नेहरुलाई म अझै पनि अनुरोध गर्न चाहन्छु । पुरानै घरमा फर्कनूस्, अझै समय छ ।’

कार्यक्रममा बोल्दै गठबन्धन दल एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य राजाराम स्याङ्तानले काम गर्ने नेता हेरेर भोट दिन आग्रह गरे । ‘मत भन्छु एमालेमा भोट हालेर भोट खेर नफाल्नु । गठबन्धनकै उम्मेदवारको जीत निश्चित छ । गठबन्धनको सरकार बनेपछि गाउँले मुहार फेर्नेछ ।’ स्याङ्तानले भने ।

कांग्रेसले मंगलबार मनहरी ४ स्थित गोलघरमा कार्यकर्ता भेटघाट गरेको थियो । त्यस्तै मनहरी ५ स्थित बसन्तपुरमा वडा सभापति सुधीर उप्रेतीको अध्यक्षतमा कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । मनहरी ९ नम्बर वडामा वडा सभापति राजकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो भने ७ नम्बर वडामा वडा सभापति उमेश माेक्तानको अध्यक्षतमा अगुवा कार्यकर्ता भेला भएको थियो । त्यसैगरी मंगलबार नै मनहरी ८ नम्बर वडामा पनि वडा सभापति भीमसेन लामाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*