दुग्ध क्षेत्रमा अवसर सँगै चुनौती पनि रहेको छ – केन्द्रिय अध्यक्ष देबकोटा

राजकुमार केसी
३१ आश्विन २०७९, सोमबार १८:००

असोज, हेटौंडा – मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडमा नवनिर्वाचित सञ्चालक समितिलाई व्यवस्थित तवरले संस्था सञ्चालन गर्न केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले आग्रह गर्नुभएको छ ।

गत असोज १४ गते भएको संघको २९ औँ साधारणसभा तथा १० औँ अधिवेशनबाट निर्विरोध निर्वाचित भएका सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई सोमबार प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै देवकोटाले सहकारी ऐन नियमलाई अध्ययन गरी व्यवस्थित तवरले सहकारी सञ्चालन गर्न आग्रह गर्नुभएको हो ।

‘दुग्ध क्षेत्रमा अवसर सँगै चुनौती पनि रहेका छन् ।’ उहाँले भन्नुभयो–‘दूध संघले उद्योग स्थापना गरेको छ । अबको नयाँ सञ्चालक समितिलाई उद्योग सञ्चालन गर्न चुनौती रहेको छ । उद्योग सञ्चालनको लागि नीति निर्माण गर्नुपर्दछ ।’

मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघमा नवनिर्वाचित अध्यक्ष हरिप्रसाद कडेँलले अग्रजको मार्गदर्शन अनुरुप आफू अगाडी बढ्ने बताउनुभयो। संघको निर्वाचन समितिका संयोजक ध्रुव प्रसाद चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचत सञ्चालक समिति र लेखा समितिलाई सोमबार प्रमाणपत्र प्रदान गरेको थियो ।

संघको १० औँ अधिवेशनबाट अध्यक्षमा हरिप्रसाद कडेंल, उपाध्यक्षमा अर्जुनप्रसाद देवकोटा, महिला सदस्यमा सावित्रीदेवी तिमल्सिना, सरिता तिमल्सिना, खुल्ला सदस्यमा जनकप्रसाद रेग्मी, धनबहादुर कार्की, इन्द्रप्रसाद खतिवडा, कृष्णप्रसाद चौलागाई, हेमप्रसाद न्यौपाने, तिलकप्रसाद रेग्मी चयन भएका थिए ।

यसैगरी संघको लेखा सुपरिवेक्षण समितिको संयोजकमा विरबहादुर गोले र सदस्यमा देवराज भण्डारी र खिलारत्न लामा चयन भएका छन् । संघका ब्यवस्थापक कुमारमणी दाहालले संचालन गर्नुभएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष बासुदेव अधिकारी, निर्वाचन समितिका सदस्य विरेन्द्रप्रसाद ढुङ्गाना, जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरी न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*