ज्यान जोखिममा राखेर बिद्यालय जान्छन् बिद्यार्थी

तामसालिङ खबर
३ आश्विन २०७९, सोमबार ०६:४९

असोज, हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ सिमात खोलामा पुल नहुँदा ज्यान जोखिममा राखेर बिद्यार्थीहरु परीक्षा दिन जाने गरेका छन् । बकैया स्थित कालाभैरव प्राथमिक बिद्यालय धेत्रे दमारमा अध्ययनरत बिद्यार्थीहरु वर्खा तथा हिउँदमा ज्यान जोखिममा राखेर सिमात खोला तरेर बिद्यालयमा अध्ययन गर्न जाने गरेका    हुन् ।

सिमात खोला तर्न बर्खामा बिद्यार्थीहरुले समस्या भोग्नु परेको छ । तामाङ समुदायको बाहुल्यता रहेको यस बिद्यालयमा हाल २७ जना बिद्यार्थीहरु अध्ययनरत रहेका छन । जसमध्ये छात्रा १७ र छात्र १० जना रहेको बिद्यालयले जनाएको छ ।

यहाँ बालकक्षा देखि कक्षा ३ सम्मको अध्ययन हुने गरेको छ । बकैयाको धेत्रे, चुवार पाखा, गोदाम डाडा, अंजिगरे लगायतका स्थानबाट बिद्यार्थीहरु करिव ४५ मिनेट पैदल हिडेर बिद्यालय पुग्ने गरेका छन् । धेत्रे र चुवार पाखाका बालबालिकाहरु बकैयाको सिमात खोला तरेर बिद्यालयमा अध्ययन गर्न तथा परीक्षा दिन जाने गरेको स्थानीय समाजसेवी रुपेन घलेले जानकारी दिए ।

भदौं ३० गतेदेखि सुरु भएको त्रैमासिक परीक्षा असोज ५ गतेसम्म संचालन हुनेछ । भदौं ३१ गते ठुलो पानी परेका कारण बिद्यार्थीहरुले खोला तर्न नसक्दा परीक्षा स्थगित गर्नुपरेको प्रध्यानाध्यापक चेत वहादुर घलेले बताए ।

बिद्यालयले हाल लिईरहेको त्रैमासिक परीक्षामा सहभागि हुन बिद्यार्थीहरु आउन नसकेपछि बिद्यालय व्यवस्था समितिका अध्यक्ष बिजय सिं घिसिङ, प्रध्यानाध्यापक चेत वहादुर घले र कार्यालय सहयोगी लगायत मिलेर बिद्यार्थीलाई खोला तारेर बिद्यालय ल्याएका थिए ।

यहाँका स्थानीय, अभिभावक तथा बिद्यालयका प्रअले पनि झोलुङ्गे पुल नहुँदा बिद्यार्थी बिद्यालय आउन परेको समस्या बारे पालिका तथा वडालाई जानकारी गराएपनि यस स्थानमा झोलुङ्गे पुल निर्माण गर्न सरोकारवाला निकायले चासो नदेखाएको उनीहरुको गुनासो छ । बिद्यार्थीलाई दैनिक विद्यालय जान र फर्किने क्रममा सिमात खोला तर्न समस्या हुने गरेको छ । खोला तर्दा कापी, किताव तथा कहिलेकाकी ड्रेस नै भिज्ने गरेको बिद्यार्थीको भनाइ छ ।

२०५३ सालमा स्थापना भएको यस बिद्यालयमा राहत दरबन्दी १ जना प्रध्यानाध्यापक र १ जना कार्यालय सहयोगी मात्रै रहेका छन् । बालकक्षा शिक्षिका भने अभाव रहेको बिद्यालयले जनाएको छ । बिद्यालय भवन समेत जीर्ण अवस्थामा रहेको बिद्यालयका प्रअले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*