दशैँमा घर जान एकैदिन सात हजारले लिए टिकट

तामसालिङ खबर
२ आश्विन २०७९, आईतवार ११:०१

असोज, काठमाण्डौ – दशैँका लागि संघिय राजधानी काठमाडौँबाट घर फर्किन टिकट बुकिङ खुलेको पहिलो दिन करिब सात हजार यात्रुले अग्रिम टिकट लिएका छन् ।

कोभिडपछिको उत्साहजनक हुने देखिएको दशैँमा यात्रुको चापलाई आधार मानेर यातायात व्यवसायीहरूले गन्तव्यअनुसार नियमित रुटबाहेक थप सवारीसाधनको व्यवस्था गर्ने भएका छन्।

यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, ट्राफिक प्रहरी र सरोकारवाला निकायको सहकार्यमा शनिबारदेखि लामो तथा मध्यम दूरीका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो।

एकै पटक लाखौँ यात्रुले उपत्यका छोड्ने हुँदा यात्रु तथा सवारीको उचित व्यवस्थापन र सहज यात्राका लागि विगतका वर्षजस्तै यस वर्ष पनि अग्रिम बुकिङ खुला गरिएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार यस पटक धेरै सवारीसाधन ओहोरदोहोर हुने गन्तव्यका लागि अग्रिम बुकिङ गर्न छुट्टै टिकट काउन्टर खुला गरिएका छन्। अन्य गन्तव्यका लागि छिटै टिकट काउन्टर खुला गरिने भएका छन्।

उहाँले भन्नुभयो, “नयाँ बसपार्कबाट देशका ७० वटा जिल्लाका लागि यात्रुवाहक बसको टिकट उपलब्ध हुँदै आएको छ। शनिबारदेखि नारायणीपारि पश्चिमतर्फका दार्चुलासम्मका र मध्यपश्चिमका सल्यान, रुकुम, प्युठान, बुटवल, अर्घाखाँची, रुकुम, रोल्पालगायत र पूर्वको ताप्लेजुङ, इलाम, काँकडभिट्टा, इटहरी, विराटनगर, उदयपुरलगायत स्थानका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको छ।” नयाँ बसपार्कमा १४ वटा टिकट बुकिङ काउन्टर थप गरेर अग्रिम टिकट दिन थालेको उहाँले बताउनुभयो।

शनिबारको बुकिङअनुसार प्युठान र धनगढी जाने यात्रुको सङ्ख्या धेरै रहेको उहाँले बताउनुभयो। शनिबारको अग्रिम बुकिङअनुसार अधिकांश यात्रुले असोज १० गतेपछिको टिकट लिएका छन्।

अग्रिम टिकट नलिएका यात्रुको सहजताका लागि हरेक दिन नयाँ बसपार्कबाट छुट्दै आएका नियमित सवारीमा टिकट लिन सकिने अध्यक्ष स्वाँरले बताउनुभयो। साथै यात्रुको चापको आधारमा गन्तव्यअनुसार थप सवारीको समेत व्यवस्थापन हुने उहाँको भनाइ छ।

ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कबाट ३२ वटा टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीका माध्यमबाट टिकट दिन सुरु गरिएको बताउनुभयो।

यता काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागको सहकार्यमा आइतबारदेखि राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना हुने भएका छन्।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार शनिबार सार्वजनिक बिदा परेकाले आइतबार (आज)देखि यात्रु सहायता कक्ष सञ्चालनमा आउनेछन्। यात्रुले टिकट लिँदा सरकारले तोकेको भाडादर र काउन्टरमा रहेका आधिकारिक टिकट वितरकबाट मात्रै टिकट लिन उहाँले आग्रह गर्नुभयो।

तोकिएको भन्दा बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने प्रवक्ता भट्टले जनाउनुभयो। शनिबारदेखि नयाँ बसपार्कसहित चावहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलङ्कीलगायत स्थानबाट समेत अग्रिम टिकट बुकिङ सुरु भएको छ।

यातायात व्यवस्था विभागमा भदौ २२ गते बसेको सरोकार निकायको बैठकले अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने यात्रुवाहक सवारीसाधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, यातायात व्यवसायी र मजदुरसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने निर्णय गरेको थियो।

उक्त बैठकले यातायात आवागमन सहज बनाउन खाद्यान्नलगायत अत्यावश्यक वस्तुको ढुवानी गर्नेबाहेकका ट्रेलरलगायतका ठूला सवारीसाधन असोज १५ देखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ। यात्रुवाहक सवारीलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*