मनहरी गाउँपालिकाले पहिलो चरणमा ७ सय २७ घरपरिवारलाई पुर्जा वितरण गर्ने

तामसालिङ खबर
१ आश्विन २०७९, शनिबार ०७:५४

असोज, हेटौडा (मनहरी) – मकवानपुरको मनहरी गाउँपालिकालर पहिलो चरणमा ७ सय २७ घरमुलीलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गर्ने भएको छ।

भूमिहीन दलितलाई जग्गाको स्वामित्व प्रदान गर्नुपर्ने नेपालको संविधान २०७२ ले गरेको व्यवस्था बमोजिम जग्गाको स्वामित्व नरहेका दलित समुदायका १ सय १ घरधुरीले पहिलो चरणमा लालपुर्जा प्राप्त गर्नेगरी प्रक्रिया अघि बढेको गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी, तीनपुस्तासम्म नेपाल राज्यको कुनैपनि स्थानमा जग्गाको स्वामित्व नरहेका मनहरी गाउँपालिकाभित्रका ६ सय २६ घरपरिवार भूमिहीन सुकुम्बासीका लागि पनि लालपुर्जा दिलाउने गरी प्रक्रिया अघि बढाइएको मनहरी गाउँपालिका भूमि व्यवस्था शाखा प्रमुख राजेन्द्रप्रसाद चौलागाईले बताउनुभयो ।

चौलागाईका अनुसार राष्ट्रिय भूमि आयोगको परिपत्र बमोजिम पालिका तहमा अध्यक्ष रन्जन कालाखेतीको संयोजकत्वमा गठित भूमिहीन तथा अब्यवस्थित बसोबासी सम्बन्धी सहजीकरण समितिको पुनर्गठनसँगै ९ वटै वडामा वडातहको सहजीकरण समिति गठन भइसकेको छ ।

वडामा वडाध्यक्ष संयोजक रहने र सबै वडा सदस्यहरु सदस्य रहने तथा राष्ट्रिय मान्यता प्राप्त दलहरुको प्रतिनिधि सम्मिलित १३ सदस्यीय सहजीकरण समिति गठन भई पहिलो चरणको अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न भइसकेको छ ।

मनहरी गाउँपालिकामा ७ हजार ७ सय २४ जनाले अब्यवस्थित जग्गाको लालपुर्जा पाउनका लागि निवेदन दिएका छन् । साबिक मनहरीतर्फ वडा नं ६ को लोथर, नयाँबस्ती, डिपाड वडा नं ७ को रमन्टार, बिजौना, लामाबस्ती, निर्मलबस्ती, मनहरी बजारका उत्तरी क्षेत्रका बस्तीहरुका लालपुर्जा छैनन् ।

लालपुर्जाका बिना पनि मनहरी क्षेत्रमा करोडौँ रुपियाँमा जग्गा किनबेच हुँदै आइरहेको छ । व्यवहारिक कागज गरी वडा कार्यालयबाट प्रमाणित गराएर जग्गाको किनबेचको क्रम चल्दै आइरहेको छ । – मनहरी लाइभबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*