एमडीएमएस प्रणाली के हो ? मोबाइलको बैधानिकता कसरी परीक्षण गर्ने ?

तामसालिङ खबर
३० भाद्र २०७९, बिहीबार १७:०१

भदौ, काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले आज देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ ।

यो प्रणाली लागू भएसँगै आज उपरान्त अर्थात ३० भदौ २०७९ पश्चात एमडीएमएसमा दर्ता नभएका मोबाइल नेपालभित्र चल्ने छैनन् ।

मोबाइल सेटको गैरकानूनी आयात, विक्रीवितरण तथा प्रयोगलाई निरूत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ तथा ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो प्रणाली आजदेखि लागू गरेको हो ।

यो प्रणाली लागू भए सँगै आफ्नो मोबाइल फोन एमडीएमएसमा दर्ता भएको वा नभएकोबारे धेरै प्रयोगकर्तामा अन्योलता छाएको छ । कतिपयको मोबाइलमा दूरसञ्चार प्राधिकरणले नै दर्ता भए/नभएको सन्देश (म्यासेज) पठाएको छ भने अधिकांशका मोबाइलमा त्यस्ता सन्देश नपठाइएको वा नपुगेको अवस्था पनि छ ।

मोबाइलमा त्यस्तो सन्देश पुगेकाहरूले विभिन्न समाजिक सञ्जालहरूमार्फत ‘मेरो मोबाइल एमडीएमएस सिस्टममा दर्ता भयो’लगायत जानकारीहरू शेयर गरिरहेका छन् ।

यस सँगै जसको मोबाइलमा म्यासेज गएको छैन वा एमडीएमएस परीक्षण गर्ने विधिबारे अञ्जान छन् उनीहरूमा आफ्नो मोबाइल वैधानिक हो वा अवैधानिक भनेर चिन्ता छाएको छ ।

यही चिन्तालाई थोरै भए पनि टाढा राख्न हामीले एमडीएमएस प्रणालीमा आफ्नो मोबाइलको आधिकारिकता परीक्षण गर्ने तरीका तल प्रस्तुत गरेका छौँ ।

आफ्नो मोबाइलको बैधानिकता कसरी परीक्षण गर्ने ?
तपाइँको मोबाइलमा दूरसञ्चार प्राधिकरणले नै दर्ता भएको वा नभएकोबारे म्यासेजमार्फत जानकारी गराइसकेको छ भने त्यही नै आधिकारिक जानकारी हो ।

जसको मोबाइलमा त्यस्तो म्यासेज प्राप्त भएको छैन उहाँहरूले सबैभन्दा पहिला आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा पाउनुपर्दछ । १५ अङ्कको यस्तो नम्बर मोबाइल किन्दा प्राप्त कभर (खोल)मा लेखिएको हुन्छ ।

खोल हराएको अवस्थामा तपाइँले आफ्नो मोबाइलको Keypad मा गई *#06# डायल गरेर आफ्नो मोबाइल/उपकरणको IMEI नम्बर पत्ता लगाउन सक्नुहुने छ ।

त्यसपछि नेपाल दूरसञ्चार प्राधिकरणको आधिकारिक वेबसाइटमा गएर उक्त १५ अङ्कको IMEI नम्बर प्रविष्ट गरी त्यसबारे जानकारी लिन सक्नुहुने छ ।

IMEI भनेको के हो?
SIM प्रयोग हुने उपकरणमा १५ अंकको IMEI नम्बर हुन्छ । त्यस्तो उपकरणहरुको IMEI एक अर्कासंग मेल खाँदैन । IMEI नम्बर उक्त्त उपकरणको परिचय प्रदान गर्ने गुण हो ।

MDMS प्रणाली भनेको के हो ?
नेपाल दूरसंचार प्राधिकरणले मोबाईलको आयात तथा प्रयोगलाई व्यवस्थापन गर्न MDMS प्रणाली लागु गरेको छ । अवैध रुपमा राज्यमा भित्रिने मोबाईलहरुलाई प्रतिबन्ध गर्न र सर्वसाधारणको मोबाईल तथा SIM को अनधिकृत प्रयोगलाई कानुनी दायरामा ल्याउन MDMS को भूमिका रहन्छ ।

MDMS ले सर्व साधारणलाई के फाईदा पुर्याउदछ ?
हराएका तथा चोरी भएका मोबाईलहरुको खोजि कार्यमा सहयोग गर्छ । साथै त्यस्ता मोबाईलको अनधिकृत प्रयोगलाई रोक्ने कार्य समेत गर्दछ ।

प्राधिकरणमा दर्ता नभएका मोबाईल किन-बेच तथा बिक्रि-वितरण गर्नु हुन्छ ?
हुँदैन । यो गैर कानुनी हो । मोबाईल किन्नु अगाडी उक्त मोबाईल प्राधिकरणमा दर्ता भए नभएको एकिन गरेर मात्र किन्नु पर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*