दुई वर्षभित्र सबै भूमिहीनलाई जग्गा उपलब्ध हुन्छः मन्त्री श्रेष्ठ

तामसालिङ खबर
२९ भाद्र २०७९, बुधबार ०६:१६

भदौ, सप्तरी – भूमिसुधार, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले दुई वर्षभित्र सबै भूमिहीनलाई जग्गा उपलब्ध हुने बताएकी छन् । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ मा भूमिहीनहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने कार्यक्रममा उहाँले भूमि आयोग गठन भएपछि ४९ हजार जग्गाविहीन जग्गाको मालिक भएको जानकारी दिइन् ।

भोटसँग लालपुर्जा साट्नु नहुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले लालपुर्जासँग कसैले भोटको राजनीति गरेमा प्रतिवाद गर्न आग्रह गरिन् । निर्वाचन आचारसंहिताको बहानामा पनि लालपुर्जा वितरण नरोकिने बताउँदै उनले जग्गा वितरण नियमित प्रक्रिया भएकाले जिल्ला भूमि आयोगले जहिले पनि वितरण गर्न सक्ने बताइन् ।

अग्निसाइर कृष्णसवरण गाउँपालिकाका अध्यक्ष दीनानाथ चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ४ का ८५ जना भूमिहीन घरपरिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ ।

कार्यक्रममा मधेस प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साह, प्रतिनिधिसभा सदस्य डाक्टर सूर्यनारायण यादव, राष्ट्रिय भूमि आयोग नेपालका अध्यक्ष केशव निरौला, उपाध्यक्ष महेन्द्र खडका लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*