नेपाल साफ यु-१७ च्याम्पियनसिपको फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

तामसालिङ खबर
२७ भाद्र २०७९, सोमबार २२:१९

भदौ, काठमाडौं – श्रीलंकामा जारी साफ यु–१७ च्याम्पियनसिपको फाइनलमा नेपाल प्रवेश गरेको छ । सोमबार सम्पन्न दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकामाथि ६-० को जित निकाल्दै उपाधि नजिक पुगेको हो ।

कोलोम्बो रेसकोष मैदानमा सम्पन्न खेलको २२ औं मिनटमा प्रशान्त लक्षमणले नेपालका लागि पहिलो गोल गरे । लगतै उनेश बुढाथोकीले त्यो अग्रता दोब्बर पारे । ३० औं मिनटमा सुवास बलमे तेस्रो गोल गर्दा खेलमा नेपालले बलियो पकड बनायो ।

त्यस्तै ३८औं मिनटमा निरज कार्कीले चौथो गोल थपे । पहिलो हाफसम्म नेपालले ४–० कै अग्रता कायम राख्यो । दोस्रो हाफको ५१औं मिनेटमा उनेश बुढाथोकीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल थपे । त्यस्तै अन्तिमतिर सिजन राईले छैठौं गोल गर्दै नेपाली टोलीको जित पक्का गरे ।

अब नेपालले फाइनलमा बुधबार भारतको सामना गर्नेछ । भारतले सोमबार नै भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई २–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*