दार्चुलामा बाढी पहिरोमा परी ५ जनाको मृत्यु , ११ जना बेपत्ता

तामसालिङ खबर
२६ भाद्र २०७९, आईतवार ०६:३०

भदौ, दार्चुला – दार्चुलामा बाढी पहिरोमा परेर ५ जनाको मृत्यु भएका छन् भने ११ जना बेपत्ता भएका छन्। जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार हालसम्म ५ जनाको शव फेला परेको छ ।

३ जना महिला र २ पुरुष गरी ५ जनाको शव फेला परेको हो। प्रहरीले नौगाड गाउँपालिका–२ की अन्दाजी ३२ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको शव फेला परेको जनाएको थियो भने महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहरा र वडा नम्बर १ सल्लाकी ४३ वर्षीया मानमती कार्कीको मृत्यु भएको बताएको थियो।

जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी पहिरोमा परेर अहिलेसम्म ११ जना बेपत्ता भएका छन् भने ८ जना घाइते भएका छन्। ३ महिला र ५ पुरुष गरी ८ जना घाइते भएका हुन्। त्यसैगरी ४ महिला र ६ पुरुष गरी १० जना बेपत्ता भएका छन्।

प्रहरीले ४२ घरमा पूर्ण क्षति, ९ घरमा आंशिक क्षति र ४० घर जोखिममा रहेको जनाएको छ। जसमा महाकाली नगरपालिकाका ६२ घर र नौगाड गाउँपालिकाका २९ घर रहेका छन्।

त्यसैगरी बाढीले एक विद्यालय पूर्ण क्षति, एकमा आंशिक क्षति र एक जोखिममा रहेको र एक विद्युत पावर हाउसमा पूर्ण क्षति पुर्‍याएको छ। त्यस्तै, २ ओटा झोलुङ्गे पुल र एक मोटरेवल पुलमा क्षति पुगेको छ।

सवारी साधनतर्फ ६ जीप, कार, ट्याक्टर, जेसीबी १–१ गरी जम्मा ९ बगाएको प्रहरीले जनाएको छ।प्रहरीले घाइतेहरुको उद्धार गरेर जिल्ला अस्पताल दार्चुलामा पुर्‍याएको छ। बाढी पहिरोमा घाइते भएकाहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। उद्धार र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*