मकवानपुरमा रोचक भिडन्तको सम्भावना : पुरानो विरोध भर्सेज नयाँ महेश

तामसालिङ खबर
२१ भाद्र २०७९, मंगलवार ०६:३०

भदौ, हेटौडा – आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुरमा एउटा रोचक भिडन्तको सम्भावना बढेको छ।

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा गठबन्धनमा नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाको सम्भावना बलियो छ । उनको प्रतिद्वन्द्वीका रूपमा नेकपा एमालेका बागमती प्रदेश कमिटी उपमहासचिव युवा नेता महेश बर्तौंला उभिने लगभग पक्का छ । खतिवडा र बर्तौंला दुवैले निर्वाचन क्षेत्रमा आफ्नो गतिविधि बढाएका छन् ।

अघिल्लो निर्वाचनमा वामगठबन्धनका उम्मेदवार खतिवडा एमालेमा थिए । हाल उनी पार्टी विभाजन सँगै नेकपा (एकीकृत समाजवादी) मा छन् । यसअघि खतिवडालाई निर्वाचन जिताउन घुँडा धसेर लागेका उनै बर्तौंला आगामी निर्वाचनमा एकअर्काको प्रतिद्वन्द्वीका रूपमा खडा हुँदैछन् । खतिवडालाई नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटीले प्रतिनिधिसभा क्षेत्र नम्बर २ का लागि उम्मेदवार सिफारिस गरिसकेको छ ।

एमालेबाट बर्तौंलासहित संविधानसभा सदस्य सुभाषचन्द्र ठकुरी र बुद्धरत्न मानन्धर सिफारिस भएका छन् । यी तीन जनामध्ये पार्टीले युवा उम्मेदवार भएकाले बर्तौंलालाई टिकट दिने सम्भावना बढी छ । प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट उठ्ने तयारी गरेका एमाले केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज रामेश्वर रानाको नाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट नाम सिफारिस भएको छ । बर्तौंलालाई सहजै उम्मेदवार बनाउन रानालाई १ नम्बर क्षेत्रबाट सिफारिस गरिएको चर्चा छ ।

एमालेबाट प्रतिनिधिसभा क्षेत्र नम्बर २ का लागि सिफारिस भएका ठकुरी पूर्वाधार विकास कम्पनीको आयोजना हेटौँडा–कुलेखानी–काठमाडौं सुरुङमार्गमा जिल्लावासीको करिब ३० करोड शेयर फसेको प्रकरणका दोषी हुन् ।

उनीमाथि निर्माणाधीन चित्लाङ–थानकोट सडक निर्माणका क्रममा ढुंगा बिक्री गर्न चलखेल गरेको आरोप पनि छ । ठकुरीका कमजोर पक्षबारे पार्टी शीर्ष नेतृत्वमा जानकारी पुगेकाले उनी उम्मेदवार हुने सम्भावना कम रहेको एमालेका जिल्ला नेताहरू बताउँछन् । सिफारिस भएका मानन्धरको पनि सम्भावना न्यून छ ।

एमालेले देशभर युवा उम्मेदवारलाई प्राथमिकता दिने नीति लिइरहँदा बर्तौंलाको सम्भावना बढेको छ । अन्ततः गठबन्धनबाट खतिवडा र एमालेबाट बर्तौंलाको भिडन्त हुने देखिन्छ । खतिवडा र बर्तौंला राजनीतिका गुरुचेला हुन् ।

अझै रोचक त अहिलेसम्म लडेका निर्वाचन नहारेका खतिवडा भर्सेज पहिलोपटक निर्वाचनमा सहभागी हुन लागेका बर्तौंलाको भिडन्त हो । खतिवडाले मकवानपुरबाट २०४८, ०५१, ०५६ र ०७४ मा गरी चारपटक प्रत्यक्ष निर्वाचन जितिसकेका छन् । उनले २०६४ र २०७० मा भएको पहिलो र दोस्रो संविधानसभा–व्यवस्थापिका संसद्को चुनावमा भने भाग लिएनन् । उनलाई पार्टीले टिकट दिएको थिएन ।

खतिवडाले सबै निर्वाचन एमालेमा रहँदा जितेका हुन् । उनले आगामी निर्वाचन एमालेबाटै विभाजित भएको पार्टीबाट लड्दै गरेकाले उनको नयाँ परीक्षासमेत हुनेछ । विगतमा जस्तो खतिवडाको पछाडि निर्वाचनका ‘सेना’हरू छैनन् । उनलाई निर्वाचन जिताउन यसअघि सिंगो एमाले मकवानपुर लाग्थ्यो । अहिले नेकपा (एकीकृत समाजवादी) सँग थोरै जनमत भएकाले उनी सीमित संख्याको टिम बोकेर गाउँ डुलिरहेका छन् ।

जसका कारण खतिवडालाई आगामी निर्वाचन पहिलाको जस्तो सहज नहुने देखिन्छ । उनलाई गठबन्धनकै नेकपा (माओवादी केन्द्र)ले पनि काउन्टर दिइरहेको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य रामनारायण बिडारीले प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट कुनै हालतमा निर्वाचन लड्ने बताउँदै आएका छन् । बिडारीले माओवादी सँधै पछाडि नबस्ने भन्दै आगामी निर्वाचनमा एउटा प्रतिनिधिसभा क्षेत्र लिने र जसको उम्मेदवार २ नम्बर क्षेत्रबाट आफू हुने सार्वजनिक रूपमै बताएका छन्।

२ नम्बर क्षेत्रकै भीमफेदी गाउँपालिकास्थित नामटार जन्मिएका बर्तौंला खतिवडालाई टक्कर दिन सक्ने नेता हुन् । बर्तौंला अनेरास्ववियु मकवानपुरको अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष हुँदै अहिले पार्टी बागमती प्रदेश कमिटीको उपमहासचिव तथा प्रचारप्रसार विभाग प्रमुख छन् । मकवानपुरको निर्वाचनमा बर्तौंला नयाँ अनुहार हुन् । उनले यसअघि कुनै निर्वाचन नलडेकोले सबैलाई आडभरोसा दिलाएर माहौल आफ्नो पक्षमा ल्याउन सक्ने देखिन्छ । बर्तौंलाका पछाडि एमाले मकवानपुरको सिङ्गो टिम र अनेरास्ववियुको पूरै कमिटी लागेको छ ।

अनेरास्ववियु मकवानपुरका सहसचिव प्रमोद फुयाँल बर्तौंलाले निर्वाचन जित्नेमा ढुक्क रहेको बताउँछन् । ‘लोकतन्त्रभित्रको दलीय व्यवस्थामाथि प्रश्न उठिरहँदा महेश बर्तौंला आजको युवाले खोजेको जस्तो साँच्चै क्षमतावान्, अध्ययनशील र अबको पुस्ताको नेतृत्व गर्न सक्षम र अब्बल छन्,’ उनले भने । बर्तौंलाले स्वतन्त्र उम्मेदवारप्रति आकर्षित हुँदै गएको तरल जनमतको समेत प्रतिनिधित्व गर्न सक्ने उनको भनाइ छ । खतिवडाले पटक–पटक संसदीय निर्वाचन जिते पनि जनताको पक्षमा काम काम गर्न नसकेको उनको आरोप छ ।

२ नम्बर क्षेत्रमा एमाले र गठबन्धनबीच करिब १२ हजार मतान्तर रहेको तथ्याड्क बोकेर हिँडिरहेका छन्, बर्तौंला । बर्तौंलाले १२ हजार मतान्तरलाई सहजै आफूतिर ल्याउन सक्ने दाबी पार्टीका नेताहरूलाई गरिरहेका छन् । विगत निर्वाचनदेखि खतिवडालाई मत हालेका जनताले आगामी निर्वाचनमा आफूलाई मत हाल्ने तयारी गरिरहेको बर्तौंला दाबी गर्छन् । शिलापत्रबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*