माओवादी सँग एकता नगर्न नेकपा एसभित्र दबाब

पत्रपत्रिकाबाट
२० भाद्र २०७९, सोमबार ०७:०४

भदौ, काठमाडौं – नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) बीच पार्टी एकता प्रक्रिया सुरु भएको भनिए पनि तत्काललाई रोकिएको छ ।

एकीकृत समाजवादीको भदौ १ को सचिवालय बैठकले एकता संयोजन समिति गठन गर्ने निर्णय गरेसँगै दुवै पार्टीबीच एकता प्रक्रिया सुरु भएको भए पनि नेकपा एसभित्रै एकता गर्ने कि नगर्ने भन्ने विषयमा विवाद भएका कारण रोकिएको हो । निर्वाचन केन्द्रीत गरेर पार्टी एकता गर्ने निर्णयले पार्टीभित्र रहेका नेता कार्यकर्ता जोगाउन कठिन भएको भन्दै तल्लो तहका नेता कार्यकर्ताहरूले तीव्र असन्तुष्टि जनाएपछि एसकाा शीर्ष नेताहरूले यसलाई तत्काले कार्यान्वयनमा नलैजाने भएका हुन्।

‘हामीले निर्वाचनपछि मात्रै एकता हुनसक्ने गरी एकता संयोजन समिति बनाएका हाैं, तर त्यतिबेलासम्मको परिस्थिति के हुन्छ भन्न सकिन्न, निर्वाचनमा सिट बाँडफाँटले एकता प्रक्रिया निर्धारण गर्छ,’ एसका प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले भने।

उनका अनुसार तत्कालै एकता गरिहाल्ने भन्दा पनि अहिलेलाई दुवै तर्फबाट एकता संयोजन समिति बन्ने भन्ने हो। एसले मुख्य काम चुनाव हुने तर त्यसबीचमा पनि छलफल हुने भनेको छ।

निर्वाचनअघि एकतामा हुने सम्भावना छैन, तपाईंले भनेजस्तो विरोध पनि होइन केही केही समस्याहरू छन् त्यसको पहिचान गरे निर्णयमा पुग्नुपर्छ,’ प्रचार विभाग प्रमुख खतिवडाले भने।

स्थानीय तहको निर्वाचनमा नेकपा एसले देशव्यापी रूपमा उम्मेदवार उठाउन नसकेको र माओवादी र कांग्रेस मिलेर एसलाई अल्मल्याएको विषयमा पार्टीभित्र व्यापक छलफल हुनुपर्ने नेता कार्यकर्ताको माग रहेको छ। एसले माओवादीसँग एकता गर्ने भनेपछि धेरैजसो नेता कार्यकर्ता निष्क्रिय बसेको, केही एमालेमै फर्केको र केहीले पार्टी बनाउने कि अन्य पार्टीको भर्‍याङ मात्रै हुने भनेर प्रश्न गरिरहेका छन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*