जलवायु परिवर्तनबारे शे फोक्सुण्डोमा सन्देशमूलक पदयात्रा हुने

रासस
१८ भाद्र २०७९, शनिबार ०७:३८

भदौ, काठमाडौं – जलवायु परिवर्तनले पारेको असर सम्बन्धमा नेपालका विभिन्न क्षेत्रका अगुवा महिलाद्वारा डोल्पाको शे फोक्सुण्डो क्षेत्रमा सन्देशमूलक पदयात्रा हुने भएको छ ।

शे फोक्सुण्डोमा आगामी अक्टोबर ८ देखि १४ तारिखसम्म हुने उक्त पदयात्रामा स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोग रहेको आयोजक संस्था साथसाथै फाउण्डेसनले जानकारी दिएको छ ।

जलवायु परिवर्तन, सामाजिक विकास र महिला सशक्तीकरणका क्षेत्रमा सक्रिय फाउण्डेशनले आयोजना गर्ने उक्त पदयात्रापछि शे फोक्सुण्डो ताल संरक्षण, प्रकृतिमा आधारित पर्यटन विकास र जलवायु परिवर्तनले स्थानीय जनजीवनमा परेको प्रभावलगायत विषयमा अन्तक्र्रिया हुने साथसाथैका अध्यक्ष प्रजिता कार्कीले जानकारी दिनुभयो ।

फाउण्डेसनले जारी गरेको विज्ञप्तिअनुसार शे फोक्सुण्डोमा ‘हिमालबाट महिलाको आवाज, जलवायु न्यायका लागि महिला एकता र प्रकृतिमा आधारित पर्यटनको विकास’ शीर्षकमा विशेष अन्तक्र्रिया हुनेछ । जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा महिलाको जनजीवन र पर्यापर्यटनमा पारेको असरबारे ध्यानाकर्षण गराउन विभिन्न क्षेत्रका विज्ञ महिलासहित ६० जनाले पदयात्रा गर्ने भएका हुन् ।

अध्यक्ष कार्कीले जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा पारेको असर, स्थानीय महिलाको जनजीवनमा परेको समस्या र प्रकृतिमा आधारित पर्यटनको सम्भावनाको उजागर गर्न र त्यसको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यका साथ शे फुक्सुण्डो पदयात्राको तयारी गरेको जानकारी दिनुभयो ।

“यो यात्रा जलवायु परिवर्तनले प्रकृति, प्रकृतिमा आधारित पर्यटन र स्थानीयको जनजीवनमा पारेको प्रभावबारे बुझ्न, बहस गर्न र समस्या समाधनको उपाय खोज्ने यात्रा हो”, उहाँले भन्नुभयो, “हामी घर, घरमा बसेर, आ–आफ्नो पेसा व्यवसाय अँगालेर बसेका नारी जलवायु परिवर्तन र जलवायु न्यायको मुद्दामा तथा महिलाको जनजीवनमा परेको अप्ठ्याराको विषयमा हिँड्दै समस्या सुन्दै, सुनाउँदै अघि बढिरहेका छौँ ।”

एक साता लामो हुने पदयात्रामा समाजका विभिन्न क्षेत्रका अगुवा महिलाका साथै सङ्घीय, प्रदेश र स्थानीय सरकारका विभिन्न तहका सम्बद्ध अधिकारी, कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि, सञ्चारकर्मीसहितको सहभागिता हुनेछ ।

शे फोक्सुण्डो पदयात्रामा तराई मधेससहित विभिन्न प्रदेशबाट प्रतिनिधिमूलक रुपमा सांसद, प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधि, डोल्पाका स्थानीय र सरोकारवाला पक्षसमेत सहभागी भई शे फोक्सुण्डो घोषणापत्र जारी गर्ने कार्यक्रम छ ।

कार्यक्रममा नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, कर्णाली प्रदेश सरकार, फोक्सुण्डो गाउँपालिका र विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सहकार्य हुने आयोजकले जानकारी दिएको छ ।

“कार्बन उत्सर्जनमा नगन्य योगदान भए पनि जलवायु परिवर्तनले नेपालको प्रकृति र सामाजिक जीवनमा देखिएका समस्या विश्वलाई सुनाउन चाहन्छौँ । नेपाल सरकार र सम्बद्ध निकायसँग सहकार्य गर्न चाहन्छौँ”, अध्यक्ष कार्कीले भन्नुभयो, “नेपाल प्राकृतिकरुपमा धेरै सुन्दर र सम्पन्न छ तर हामीले यसको दिगो उपयोग गरेर उचित लाभ लिन सकेका छैनौँ ।”

पछिल्ला वर्षहरुमा नेपालमा मात्र होइन, जलवायु परिवर्तनको असर विश्वभर नै बढ्दो छ । हिमाल क्रमशः कालापत्थर हुँदैछन् । बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि, बेमौसमी वर्षाले ठूलो धनजनको क्षति हुन थालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*