अब नेपालमै सामसङको एलईडी टीभी बन्ने

तामसालिङ खबर
९ भाद्र २०७९, बिहीबार ०७:३७

भदौ, नवलपरासी – सामसङ ब्रान्डको एलईडी टीभी अब नेपालमै बन्ने भएको छ । गोल्छा अर्गनाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्स र सामसङको सहकार्यमा सामसङ एलईडी टीभी नेपालमै एसेम्बल गर्न लागिएको हो । त्यसका लागि पश्चिम नवलपरासीको भूमहीमा उद्योगको स्थापना गरिने भएको छ । बुधबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष तथा सीएफओ एचके पार्कले उद्योगको शिलान्यास गरे ।

कार्यक्रममा मन्त्री बडूले नेपाल सामसङका उत्पादनको ठूलो आयातकर्ता भएको बताउँदै नेपालमा थप लगानी गर्न आग्रह गरे । एसेम्बल, प्रविधि आदानप्रदान नेपालका लागि कोसेढुंगा सावित हुने उनको भनाइ छ । ‘यसले नेपालमा रोजगारीको अवसर सिर्जना हुनुका साथै एफडीआई ल्याउन पनि मद्दत पुग्छ,’ उनले भने, ‘सामसङलाई लगानी बढाउन आग्रह गर्छु । वैदेशिक लगानीको संरक्षण सरकारले गर्छ ।’

सामसङका लागि दक्षिण पश्चिम एसिया हेर्ने क्षेत्रीय अध्यक्ष एवं सीईओ केन काङले टीभी एसेम्बलिङले नेपालमा रोजगारीसँगै लगानीको पनि अवसर खुला हुने बताए । ‘सन् १९९७ देखि नेपालमा व्यापार सुरुवात गरेका थियौं । लामो समयदेखिको साझेदार हिम इलेक्ट्रोनिक्ससँग मिलेर स्थापना गर्न लागिएको एलईडी टीभी एसेम्बल उद्योग कोसेढुंगा सावित हुनेछ,’ उनले भने, ‘उद्योगबाट दक्ष जनशक्तिसमेत उत्पादन हुनेछन् । लगानीको अवसर पनि खुल्दै जानेछ ।’

गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले एसेम्बल उद्योगको स्थापनाले नेपालमा उद्योगधन्दाको विकाससँगै दक्षता र उत्पादकत्वमा वृद्धि हुने आशा व्यक्त गरे । ‘यो सामसङसँगको हाम्रो २२ वर्ष लामो सहकार्यको सुखद परिणाम हो । उद्योगले नेपालको उत्पादन यात्रामा एक महत्त्वपूर्ण अध्यायको सुरुवात गर्नेछ,’ उनले भने, ‘टीभीको एसेम्बल सुरु भएपछि २ वर्षमा ५ सय जनाभन्दा बढीलाई रोजगारी दिनेछौं । अधिकांश कामदारहरू अर्धदक्ष हुनेछन् ।’ उनले करिब तीन दशकको बिक्रीवितरणको अनुभवलाई भरपूर सदुपयोग गर्ने उल्लेख गर्दै टीभीसँगै अन्य उपकरणहरू पनि एसेम्बल गर्दै जाने बताए ।

हिम इलेक्ट्रोनिक्स नेपालका लागि सामसङको आधिकारिक डिलरका रूपमा रहँदै आएको छ । गोल्छाका अनुसार टीभी एसेम्बलमा लगानी हिम इलेक्ट्रोनिक्सको हुनेछ । सामसङले प्राविधिक साझेदारी मात्रै गर्नेछ । प्रतिदिन १ हजार टीभी उत्पादन गर्ने लक्ष्य राखिएको छ । ‘सुरुमा प्रतिदिन ५० देखि १ सय टीभी उत्पादन गरिने र उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएपछि प्रतिदिन १ हजार वटा उत्पादन गरिने लक्ष्य छ,’ गोल्छाले भने । भूमहीमा रहेको ४ बिघा जग्गामा बन्ने उद्योगबाट सन् २०२३ देखि उत्पादन सुरु गर्ने लक्ष्य कम्पनीले लिएको छ । – कान्तिपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*