देश चलाउन भिजन होइन, मुटु चाहिन्छ – रवि लामिछाने

तामसालिङ खबर
२७ श्रावण २०७९, शुक्रबार १८:३३

साउन, हेटौंडा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुक चलाउन भिजन नचाहिने बताउनुभएको छ ।

शुक्रबार हेटौंडामा बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्नुहुँदै मुलुक चलाउन भिजन भन्दा मुटु चाहिने बताउनुभएको हो । मुलुक चलाउन कुनै वादको जरुरी नहुने उल्लेख गर्नुहुँदै लामिछानेले नेपालको विकासमा पर्यटनको विकास गर्नुपर्ने बताउनुभयो ।

अहिलेका राजनीतिकर्मीहरु दूतावासको एकछाक खाना र रक्सिमा बिकेका कारण आफू राजनीतिमा आउन बाध्य भएको लामिछानेको भनाइ थियो । उद्योग, कलकारखाना नेताका कमिसन, कार्यकर्ता भर्तीका कारण बन्द हुन पुगेको भन्दै हेटौंडा सिमेन्ट उद्योग सधैं घाटामा जाने तर, नजिककैका निजी उद्योग भने नाफामा जानुको कारण के भन्दै प्रश्न गर्नुभएका लामिछानेले निजी उद्योगको नाम भने उच्चारण गर्न चाहनुभएन ।

बागमती प्रदेशमा १८ सदस्यीय मन्त्रिपरिषद्लाई लक्षित गर्दै १८ जना साँढे किन चाहियो ? भनी प्रश्न गर्नुभएका लामिछानेले पछि आफ्नो भनाइ सच्याउँदै साँढे शव्द फिर्ता लिनु भयो ।

जनताले सही नेतृत्व चयन गर्न सकियो भने अहिलेको समस्या समाधान गर्न सकिने उल्लेख गर्नुहुँदै लामिछानेले भन्नुभयो, ‘त्यसका लागि हामी सरकारमा जानुपर्छ ।’ प्रहरीको अपराध अनुसन्धान गर्ने शाखा पनि सिसि क्यामेराको निगरानीमा हुनुपर्ने लामिछानेको माग छ ।

प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्नुहुँदै लामिछानेले नेपालमा प्रदेशको संरचना आवश्यक नै नभएको दावी समेत गर्नुभयो । नेपालका कतिपय राजकीय पदको औचित्य नै नभएको पनि उहाँको तर्क थियो । प्रदेशस्तरीय भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न जिल्लाका प्रतिनिधिले मेरो कल्पनाको देश भन्ने आशयमा अभिव्यक्ति दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*