मकवानपुरमा कम्युनिष्टको ‘लालकिल्ला’ भत्काउँदै पहिलो पार्टी बन्यो कांग्रेस

तामसालिङ खबर
५ जेष्ठ २०७९, बिहीबार ०६:५२

जेठ, हेटौडा – नेकपा एमालेको विभाजन र सत्तारुढ गठबन्धनको तालमेलकाबीच मकवानपुरमा नेपाली कांग्रेसले आफूलाई पहिलो पार्टीको रुपमा उभ्याउने निश्चित भएको छ ।

बहुदल प्राप्ति पश्चात् २०४८ सालमा भएको आमनिर्वाचन, २०५१ सालको मध्यावधी निर्वाचनसँगैबाट मकवानपुरमा बामे सर्न सुरु गरेको कांग्रेस स्थानीय तह निर्वाचन २०७९ सम्म आइपुग्दा जिल्लामा पहिलो पार्टीको रुपमा उदाएको छ ।

जारी स्थानीय तहको निर्वाचनमा कांग्रेसले दशवटा स्थानीय तहमध्ये पाँचवटामा प्रमुख, एउटा उपप्रमुखमा विजयी भइसकेको छ । हेटौंडा उपमहानगरपालिकासहित वाग्मती गाउँपालिकाका उपप्रमुखमा जित्ने करिब निश्चित छ । जिल्लाको १०२ वटा वडामध्ये वाग्मती र हेटौंडाको मतगणना जारी रहँदा ४१ वटा वडा कांग्रेसले आफ्नो नाममा दर्ता गराइसकेको छ । कांग्रेसले जिल्लामा माओवादी केन्द्र र नेकपा ९एकीकृत० समाजवादीलाई साथमा लिएर खुशी बनाउँदै पाँचवर्षका लागि शासन सत्ता आफ्नो हातमा पार्न सफल भएको हो ।

२०४९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले तत्कालिन ४३ वटा गाविसमध्ये दशवटामा विजयी भएको थियो । २०५४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले एउटा मात्र गाविसमा विजयी भएको थियो । मकवानपुरे राजनीतिमा २०५४ सालमा कमल थापाको उदयसँगै कांग्रेस क्रमशः थप कमजोर बन्न पुग्यो ।

‘कमल थापाको प्रभाव, कम्युनिष्टको चुस्त संगठनका कारण हामी लामो समय सांगठनिकरुपमा खुम्चिएर बसेका थियौं । २०५२ सालपश्चात् माओवादी युद्धका कारण कांग्रेसलाई आफ्नो कार्यकर्ता र संगठन गर्नै समस्या भइसकेको थियो’, कांग्रेसका पूर्वजिल्ला सभापति रामचन्द्र अर्यालले भने । कांग्रेसको संगठन संरचना पूर्णरुपमा क्रियाशील भएको र जनताले परिवर्तन खोजेका कारण स्थानीय तह निर्वाचनमा कांग्रेस पहिलो पार्टीको रुपमा स्थापित भएको उनको टिप्पणी छ ।

मकवानपुरमा लामो समय राप्रपा नेता थापा र रुपचन्द्र विष्टको प्रभाव रहेको थियो । माओवादी युद्धपश्चात् जिल्लामा थापाको शक्ति असाध्यै कमजोर बन्न पुग्यो । विष्टको प्रभाव घटेपछि जिल्लामा एमाले पहिलो शक्तिको रुपमा २०४९ सालदेखि मकवानपुरमा शासन गरिरहेको थियो । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मकवानपुरको चारवटै निर्वाचन क्षेत्र माओवादीको कब्जामा गएको थियो ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालिन मकवानपुर १ बाट कांग्रेस नेता तथा हाल वाग्मती प्रदेशसभा सभापति इन्द्रबहादुर बानियाँ विजयी भए । उनको विजयसँगै मकवानपुरमा कांग्रेसको संरचना क्रमशः बलियो हुँदै गएको हो । पूर्वी मकवानपुरबाट सुरु भएको कांग्रेसको संरचना विस्तार अहिले जिल्लैभर पुगेको छ । बानियाँको प्रभावले तत्कालिन समय राप्रपामा रहेको कार्यकर्ताहरु सबै कांग्रेसतर्फ आकर्षित भएपश्चात् संगठन संरचना थप बलियो भएको हो । हाल जिल्लामा कम्युनिष्टविरुद्धको जनमत कांग्रेसतर्फ सोझिएको छ ।

लामो समयसम्म कम्युनिष्टले जित्दा पनि विकासको काममा ध्यान नदिएको, आफ्नो कार्यकर्ताको ठाउँमा मात्रै विकास र सेवा सुविधावितरण गरेका कारण आमजनता माझ अलोकप्रिय भएको दाबी कांग्रेसको छ ।

कांग्रेसले अघिल्लो स्थानीय तहमा जितेको स्थानमा उदार र निष्पक्षरुपमा सेवा प्रवाह गरेका कारण पनि कांग्रेसप्रति जनविश्वास बढेको दाबी कांग्रेस जिल्ला सभापति बुद्ध लामाको छ । ‘हामीले संसदीय निर्वाचन जितेपश्चात् जिल्लामा विकासे लहर सुरु भएको हो । त्यसकै बलमा हामीले जनताको मत जित्दै यहाँसम्मको यात्रा तय गर्‍यौं’, लामाले भने ।

‘हामीले नयाँ र लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउँदा यो सफलता हात पारेका हौं । जनताले पनि नयाँ अनुहार र आफ्नो शासक परिवर्तन गर्न खोजिरहेका रहेछन् । हामीले सोही अनुसार रणनीति बनाउन सफल भयौं’, लामाले भने,‘अहिले कांग्रेसको पार्टीगत संरचना टोलटोलमा पुगेको छ । जसको कारण पनि हामीलाई चुनावमा मतदाता माझ आफ्नो उपस्थिति देखाउन सहज भइरहेको छ ।’

कांग्रेसको जिल्ला अधिवेशनलगत्तै स्थानीय तहको निर्वाचन हुँदा अझै कम सिटमा विजयी भएको ठम्याइ केही कांग्रेस नेताहरुको समेत रहेको छ । पार्टीभित्रको विवादलाई उम्मेदवारसँग सोध्न खोज्दा कतिपय वडा गुमाउन पुगेको समेत नेताहरु बताउँछन् । कांग्रेसमा अहिले देखिएको उभार र जनताले प्रदान गरको मौकालाई अवसरको रुपमा परिणत गर्दै कार्यकर्ता र जनतामा ताजापन भरिराख्नुपर्ने चुनौती आफूहरुमाझ रहेको सभापति लामाको भनाइ छ । कान्तिपुरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*