मलाई मेयरको रुपमा हेर्न जनता आतुर छन् – मेयरका उम्मेदवार लामा

तामसालिङ खबर
२६ बैशाख २०७९, सोमबार ११:०८

बैशाख, हेटौडा – सत्तारुढ गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेकी मीना लामाले जिल्लाकै पहिलो महिला मेयरको रुपमा जनताले आफूलाई हेर्न चाहेको बताएकी छन् ।

आइतबार चुनाव प्रचारप्रसार सचिवालयमा सञ्चारकर्मीसँगको भेटको क्रममा उनले महिला भएकै कारण समाजमा अझै पनि धेरै नागरिक पछाडि परिरहेको अवस्थामा आफू आत्मविश्वास र प्रतिस्पर्धाबाटै यहाँसम्मको यात्रा तय गरेको बताइन् ।

‘हाम्रो समाज परिष्कृत भएको छ । समाजमा महिलाले पनि गर्न सक्छन् भन्ने सोचको विकास भइसकेको छ । एउटा परिवारमा छोरी, बुहारीले पनि केही गर्न सक्छन् भन्ने सोचको विकास भएको छ ।’, उनले भनिन्,‘हरेक गाउँ सहरमा छोरीलाई अब्बल बनाउनुपर्छ, अघि बढाउनुपर्छ भन्ने प्रवृत्ति विकास भइसकेको छ ।

प्रविधियुक्त यो समयमा हरेक अभिभावकहरू महिलालाई अघि बढाउन सक्रिय देखिएका छन् । त्यसमा पनि मैले आफ्नो क्षमता प्रस्तुत गरिसकेको छु । हेटौडाका आम जनताले मलाई स–सम्मान आगामी निर्वाचनमा विजयी गराउनुहुन्छ । त्यसैले म महिला नै भएकै कारणले चुनाव जित्छु ।’ महिलाले आफूलाई नेतृत्वको लागि तयार गर्न जरुरी रहेको बताइन् ।

‘जब मानिसहरु सक्षम हुन्छन्, त्यहाँ लिंग र जातको आधारमा विभेद हुने अवस्था आउँदैन । नेतृत्वका लागि आफू सक्षम हुनु मुख्य विषय हो । तर, हाम्रो समाजमा पहिलैदेखिको एउटा सङ्कीर्ण सोच कायमै छ । महिला र पुरुष बिचको भिन्नता राख्ने दृष्टिकोणले गर्दा केही महिला पछि परेका पनि छन् ।’, उनले भनिन् ।

‘मलाई पार्टीभित्र महिला भएकै कारण नेतृत्वमा आउन नसक्दा पनि समस्या भएन । पार्टीभित्र एक प्रकारको प्रतिस्पर्धा हुन्छ । त्यसका आफू अब्बल हुन सक्नु पर्‍यो । म पनि गर्न सक्छु भन्ने साहस र क्षमता हुनुचाहिँ पर्छ ।’, उनले भनिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*