‘परिवर्तन गर्न गठबन्धनलाई मतदान गर्नुस्’ – उपमेयर उम्मेदवार बानियाँ
बैशाख, हेटौडा – हेटौंडा उपमहानगरपालिकाको समग्र परिवर्तन गर्न सत्तारुढ गठबन्धनलाई मतदान गर्न आग्रह गरिएको छ । शनिबार हेटौंडा-१ स्थित चौकीटोल क्षेत्रमा घरदैलो गर्दै मेयरका उम्मेदवार मीना लामा र उपमेयरका उम्मेदवार राजेश बानियाँयले गठबन्धनको जीत नै हेटौंडाबासीको हित भएको जीकिर गरेका छन् ।
‘परिवर्तनका लागि गठबनधनलाई मतदान गर्नुस् । यो उपमहानगर कुनै पार्टीको होइन । जनताको हो । अर्को पार्टीले जनमतको अवमूल्यन गरिरहेको छ ।’, उपमेयरका उम्मेदवार राजेश बानियाँले भने,‘एउटै व्यक्तीलाई कहिले माननीय, कहिले मेयर । एउटै व्यक्ति कहिले मेयर भएको छ कहिले मुख्यमन्त्री ।’
बानियाँले सत्तारुढ गठबन्धन परिवर्तन र विकासको पक्षधर भएका कारण जनताले मतदान गर्ने दावी गरे । ‘अब हेटौंडा उपमहानगरपालिका साझा चौतारीको रुपमा अगाडि बढ्नेछ । कुनै एउटा दलको मात्र हुने छैन । हामी विकासका मोडल तयार गर्नेछौं ।’, उनले भने ।
हेटौंडा-१ मा संयुक्त गठबन्धनको तर्फबाट सविन न्यौपाने उम्मेदवार रहेका छन् । उनी यसअघि पनि अत्याधिक बहुमतले निर्वाचित भएका थिए । हेटौंडा-१, मेयरकी उम्मेदवार मीना लामाको वडा भएको र न्यौपाने पनि बलियो उम्मेदवार भएका कारण गठबन्धनलाई सहज हुने अनुमान गरिएको छ ।
पछिल्लो समय चौकीटोल, जरुवाटोल, चाइनाक्वार्टर क्षेत्रमा कांग्रेसप्रति आकर्षण बढ्दो अवस्थामा रहेको छ ।