थाहामा गठबन्धन थप कसिलो बनाउन पाँच बुँदे सहमति

तामसालिङ खबर
२३ बैशाख २०७९, शुक्रबार ०७:४६

बैशाख, हेटौडा (थाहा नगर) – मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन थप कसिलो बनाउन पाँच बुँदे सहमति गरिएको छ ।

गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच गठबन्धनका उम्मेदवारलाई जिताउँन र चुनावी अभियानलाई थप प्रभावकारी बनाउन बुधबार बसेको संयुक्त बैठकले पाँच बुँदे सहमति गरेको हो ।

थाहामा गठबन्धनबाट मेयरमा माओवादी केन्द्रका बिष्णु विष्ट र उपमेयरमा कांग्रेसका भरत गोपाली उम्मेदवार बनेका छन् । १२ वटा वडा रहेको थाहामा वडागत रुपमा १२ नम्बरमा मात्र गठबन्धन भएको छ । यसअघि वडामा मित्रवत् प्रतिस्पर्धा गर्ने र मेयर, उपमेयरमा संयुक्त प्रचारप्रसारमा जुट्ने गरी दलहरुबीच सहमति भइसकेको छ ।

कांग्रेस थाहा नगर समिति कार्यालयमा बसेको बैठकले प्रतिगमनको विरुद्धमा एक हुँदै प्राप्त उपलब्धीहरुको रक्षा गर्न गठित ५ दलीय गठबन्धनमा रहेका दलहरुबीच स्थानीय निर्वाचनमा भएको गठबन्धन उपलब्धी मूलक बनाउने केन्द्रीय गठबन्धनको निर्णय अनुसार अगाडि बढ्ने निर्णय भएको कांग्रेस नगर सभापति प्रमोद जोशीले जानकारी दिए ।

बैठकले थाहामा गठबन्धनबारे घरघरमा बुझाएर प्रभावकारी कार्यान्वयन गर्ने÷गराउने, गठबन्धनको निर्णय भए बमोजिम थाहा नगरको प्रमुखमा बिष्णु बिष्ट र उपप्रमुखमा भरत गोपालीलाई विजयी गराउन साझा कार्यक्रम गरी सक्रिय हुने निर्णय गरेको छ ।

केन्द्रीय गठबन्धनको नीति विपरित तथा गठबन्धन भित्रका बाहेक अन्य उम्मेदवार र दललाई कुनै प्रकारको सहयोग नगर्ने, प्रचार प्रसारका क्रममा, समाजिक सञ्जालहरुमा र सञ्चार माध्यमहरुमा विचार धारणा सम्प्रेषण गर्दा गठबन्धनको मर्म विपरित अभिव्यक्ती नदिने र गठबन्धनको केन्द्रिय नीतिअनुसार गठबन्धनमा रहेका अन्य दलहरुबीच पनि निरन्तर वार्ता संवाद गरी प्रतिगमतविरुद्धको साझा अभियान अगाडि बढाउने सहमति भएको माओवादी केन्द्र थाहा नगर कमिटी अध्यक्ष बिनोद लामा थिङले जानकारी   दिए ।

नगरमा पछिल्लो अवस्थाबारे जानकारी लिएर सबै दलहरुको सहकार्यमा एकतालाई प्रभावकारी बनाउने र निरन्तर छलफल गरी थप गृहकार्य गर्ने विषयमा पनि छलफल भएको लामाले बताए ।

बैठकमा कांग्रेसबाट सभापति प्रमोद जोशी, माओवादी केन्द्रबाट अध्यक्ष बिनोद लामा थिङ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष सानुकाजी गोपाली र जनता समाजवादी पार्टीबाट सुजन तामाङको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*