माझी समुदायको पहिलो गाउँपालिका अध्यक्ष उम्मेदवार लक्ष्मी माझी ‘कृपा’

तामसालिङ खबर
१४ बैशाख २०७९, बुधबार १७:४९

बैशाख, हेटौंडा (बकैया) – सशस्त्र युद्धमा जनमुक्ति सेनाको भूमिकामा र शान्तिपूर्ण राजनीतिमा कार्यकर्ताको रुपमा सक्रिय बन्दै आउनुभएको लक्ष्मी माझी (कृपा) ले बकैया गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिनुभएको छ ।

आसन्न स्थानीय तह निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिँदै उहाँ माझी समुदायको महिलाबाट पहिलो गाउँपालिका अध्यक्षको उम्मेदवार समेत बन्नुभएको हो ।

नेकपा माओवादी केन्द्रको सिफारिसमा सिमान्तकृत अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्दै यसअघि गाउँ कार्यपालिका सदस्य बन्नुभएको माझी हाल सोही पार्टीको सिफारिसबाट अध्यक्षको उम्मेदवार बन्नुभएको हो । सोमबार साँझ सबै वडासहित पालिका नेतृत्वको उम्मेदवार दर्ता गराएको उक्त पार्टीले अघिल्लो चुनावमा अध्यक्षको उम्मेदवार रहेका भक्त बहादुर खत्रीलाई यसपटक उपाध्यक्षको उम्मेदवार बनाएको छ ।

अध्यक्षमा उम्मेदवारी दिए सँगै प्रतिक्रिया दिँदै उम्मेदवार कृपाले भुमिहिन दलित र अव्यवस्थित सुकुम्बासीलाई लालपुर्जा वितरण गरेर जग्गाधनी बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो । उहाँले गाउँपालिकामा भौतिक र आर्थिक विकाससङ्गै मानवीय विकासमा समेत जोड दिने बताउनुभयो ।

अति सिमान्तकृत, दलित र विपन्न वर्गको लागि आफूले प्राविधिक शिक्षामा पहुँच पुग्ने गरी काम गर्ने भन्दै उहाँले महिला तथा बेरोजगार युवाहरुलाई स्थानीय श्रोत साधनको माध्यमबाट व्यावसायिक तालीम र स्वरोजगार बनाउने बताउनुभयो ।

व्यवस्था परिवर्तनका लागि भएको जनयुद्धमा आफूसँगैका साथीहरु गुमाउनुभएका कृपाले विगत सम्झीँदै भन्नुभयो, ‘देशका लागि जनयुद्धका समयमा घाइते भएका अपाङ्ग र सहीद परिवार, द्वन्द्व प्रभावित बेपत्ता परिवारको संरक्षणमा ध्यान दिनेछु ।’ गाउँपालिकामा जेष्ठ नागरिक सम्मान तथा महिलाहरुको प्रजनन स्वास्थ्य उपचारको लागी बिभिन्न कार्यक्रम ल्याउने उहाँको योजना छ ।

आफूले ५ वर्षमा यहाँको अध्ययन गरेको र यहाँको आवश्यकता बुझेको दाबी गर्दै उहाँले बकैयाको अधुरो काम पुरा गर्न आफूले उम्मेदवारी दिएको प्रष्ट पार्नुभयो। जनताले आफूलाई साथ दिनेमा आफू विश्वस्त भएको उहाँको भनाई छ ।

‘कृपा’सहित बकैयाबाट ८ जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्, भने उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*