बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

तामसालिङ खबर
११ बैशाख २०७९, आईतवार १३:०७

बैशाख, काठमाण्डौ – काठमाडौँ महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । आइतबार उम्मेदवारी मनोनयन अघि शाहले २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

शाहले आफ्नो प्रतिबद्धता पत्रमा काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गनेर प्राविधिक शिक्षामा जोड दिने बताएका छन् । त्यस्तै निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन अडिट गरिने उल्लेख गरेका छन् ।

स्वास्थ्य क्षेत्रमा शाहले प्रत्येक वडामा योग्य चिकित्सक, नर्सिङ प्रोफेसनल, फार्मासिस्ट र नियमित स्वास्थ्य जाँचका लागि डायग्नोस्टिक ल्याब सहितको स्वास्थ्य क्लिनिक सुरुवात गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौँ महानगरपालिकाको स्वामित्वमा पूर्ण सुविधायुक्त एम्बुलेन्स सेवाहरू सुचारु गरिने र ७० वर्ष माथिका वृद्ध वृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण घरघरमै गरिने योजना उनले अघि सारेका छन् ।

शाहले सांस्कृतिक महत्त्वका सम्पदा क्षेत्रका लागि उपभोक्ता समिति मार्फत निर्माण तथा पुनर्निर्माणका कार्य गरिने बताएका छन् । बस स्टपहरूमा फल्चा स्थापना गरिने उनको भनाइ छ ।

शाहले सार्वजनिक तथा महानगरिय यातायातलाई एउटै छाता संगठन अन्तर्गत ल्याएर शतप्रतिशत विद्युतीय सार्वजनिक यातायातको थालनी गरिने बताएका छन् । काठमाडौँ महानगरपालिका भित्रका केही भवनहरू भाडामा लिएर बहु(तले पार्किङमा परिणत गरिने र काठमाडौँ महानगरपालिका को आफ्नै ट्याक्सी एप सञ्चालन गरिने उनको योजना छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*