स्थानीय तह निर्वाचनमा उम्मेदवारले धरौटी कति राख्नुपर्छ, उम्मेदवार हुन के के चाहिन्छ?

तामसालिङ खबर
८ बैशाख २०७९, बिहीबार ०७:५४

बैशाख, काठमाण्डौ – आगामी वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले तयारी तिब्र पारेको छ। आयोगसँगै दलहरूले पनि उम्मेदवारी चयन गर्न थालेका छन्।

यसैबीच आयोगले स्थानीय तहको उम्मेदवारले राख्नुपर्ने धरौटी रकम तोकेको छ। आयोगका अनुसार स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुखले १ हजार ५ सय रूपैयाँ धरौटी राख्नुपर्ने हुन्छ ।

त्यस्तै, वडा अध्यक्षले एक हजार रूपैयाँ र वडा सदस्यहरूले ५ सय रुपैयाँ धरौटी राख्नुपर्ने आयोगले जनाएको छ । आयोगका अनुसार महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न व्यक्तिको हकमा भने धरौटीमा ५० प्रतिशत हुनेछ।

उम्मेदवार हुनका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित वडामा आफ्नो नाम समावेश भएको निस्सा, धरौटी राखेको बैंक भौचर वा नगद रसिद, दलले उम्मेदवारको हकमा सो दलले दिएको औपचारिक पत्र र सम्बन्धित पालिका वा अधिकार प्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सासँगै उम्मेदवारको स्वघोषणा आवश्यक हुन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*