जनकपुरमा एक्लै चुनाव लड्ने कांग्रेसको निर्णय

तामसालिङ खबर
३ बैशाख २०७९, शनिबार १७:५५

बैशाख, जनकपुरधाम – आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका दलहरुबीच चुनाबी एकताको सम्भावना टरेको छ । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगर समितिले स्थानीय तहको निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरे सँगै सत्तारुढ दलबीच गठबन्धनको सम्भावना टरेको हो ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसले जनकपुरधाममा एक्लै चुनाव लड्ने निर्णय गरेको पार्टीको उपमहानगर समितिले जनाएको छ। २०७४ सालको निर्वाचनमा जनकपुरधाममा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट लालकिशोर साह २१ हजार ९०३ मत ल्याएर निर्वाचित भएका थिए। साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मनोज साहले ११ हजार १६४ मत प्राप्त गरेका थिए।

जसपाले पुनः उनलाई नै मेयरको उम्मेदवार बनाउन लबिङ गरिरहेको छ । नगर सभापतिसमेत रहेका मनोज साहले उपमहानगरको २५ वटै वडाले गठबन्धन गर्न नहुने बताए । उनले कांग्रेसलाई मेयर र उपमेयर दिएमा गठबन्धन मान्ने अन्यथा नमान्ने सञ्चारकर्मीलाई बताए ।

उनले भने, ‘ग्रास रुटको म्यान्डेटलाई मानेर हामी अघि बढ्छौं। नगर कार्यसमितिको पदाधिकारी बैठकले पनि एक जनाको नाम मात्रै प्रस्ताव गर्ने निर्णय गरेको छ। यस्तो अवस्थामा हामी गठबन्धन गर्दैनौं।’

कांग्रेस नेता विमलेन्द्र निधि, संसदीय दलका नेता रामसरोज यादव, जिल्ला सभापति योगेन्द्र पञ्जियार, नेता स्मृतिनारायण चौधरी, चन्द्रमोहन यादव र दिनेश प्रसैला पनि गठबन्धनको विरोधमा रहेको साहले बताए।

निर्विकल्प उम्मेदवार हुँ : मनोज साह
नेपाली कांग्रेस जनकपुरधामका नगर सभापति मनोज साहले आफू मेयर पदको निर्विकल्प उम्मेदवार रहेको बताए। उनले भने, ‘म पार्टीका तर्फबाट मेयर पदका लागि निर्विकल्प उम्मेदवार हुँ । मेरो विकल्प नै छैन। त्यसैले पार्टीले फेरि मलाई नै टिकट दिन्छ भन्ने कुरामा म विश्वस्त छु।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*