गठबन्धनले सिट बाँडफाँटका लागि तय गरेको यस्तो छ, ७ आधार

तामसालिङ खबर
३० चैत्र २०७८, बुधबार ०८:२४

चैत्र, काठमाडौं – सत्तागठबन्धन पाँच दलले आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्न विभिन्न सात आधार तय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले आगामी वैशाख पहिलो सातासम्म निर्वाचनमा सिट बाँडफाँट गर्ने बारेमा समेत सहमति गरेको संचारमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख सिट बाँडफाँट गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने, नगरपालिका तथा गाउँपालिकाको प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सिट बाँडफाँट जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने, प्रदेशले वैशाख ५ गतेभित्र केन्द्रमा पठाउने निर्णय गरेको उनले बताए ।

सबै तहका वडाको अध्यक्ष र सदस्यको सिट बाँडफाँट भने जिल्लास्तरीय संयन्त्रले वैशाख ३ गतेभित्र टुङ्गो लगाउने बैठकले निर्णय गरेको छ । यसैगरी बैठकले विसं २०७४ को स्थानीय निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवारहरूलाई मान्ने, गत स्थानीय निर्वाचनमा दलका उम्मेदवारले पालिका र वडामा पाएको मतको मतभार, स्थानीय निर्वाचनमा विजयी नभए पनि स्थानीय तहमा उपस्थित रही यथासक्य गठबन्धनमा सहभागीलगायत आधार मान्ने बैठकको निर्णय छ ।

बैठकले प्रदेश र जिल्लास्तरमा बन्ने गठबन्धनको संयन्त्रबारे पनि मापदण्ड तय गरेको छ । जसअनुसार प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित २–२ जना प्रतिनिधि रहनेछन् । प्रत्येक तहको संयन्त्रमा निर्णय लिनका लागि सम्बन्धित पार्टीले आ–आफ्नो आवश्यकताअनुसार प्रतिनिधि आमन्त्रण गर्नसक्ने छन् । र, सबै तहको बैठकको संयोजन नेपाली कांग्रेसका सम्बन्धित तहको सभापतिले गर्ने गठबन्धन बैठकले निर्णय गरेको छ ।

गठबन्धनले तय गरेको सिट बाँडफाँटको ७ आधार –
१) २०७४ को स्थानीय तह निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा एकीकृत समाजवादी कायम रहेको जनप्रतिनिधिहरुलाई यसैअनुसार मान्ने ।
२) २०७४ को निर्वाचनमा दलका उम्मेदवारहरुले पालिका, वडामा प्राप्त गरेको मतको मतभार ।
३) २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी प्राप्त गरेको नभएता पनि स्थानीय तहमा उपस्थिति रही यथासक्य गठबन्धनभित्र अन्य दललाई पनि सहभागी गराउने ।
४) २०७४ को निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी स्थानमा गठबन्धन भित्रका दलहरुले उक्त निर्वाचनमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने । यसको साथै उक्त तहमा दलका उम्मेदवारहरुले प्राप्त गरेको मतभारलाई आधार बनाउने ।
५) नेकपा एकीकृत समाजवादी २०७४ को निर्वाचनमा उक्त पार्टीको रुपमा सहभागी नभएको हुँदा माथि बुँदानम्बर ४ मा उल्लेखित आधारहरुले मात्र नहुने र उक्त पार्टी नेकपा एमाले विभाजित भए बनेको मुख्य शक्ति रहेको यथार्थलाई मनन् गर्ने ।
६) गठबन्धनमा रहेका दलहरुबीच सिट बाँडफाँट गर्दा माथि उल्लेखित आधारहरुका अतिरित्त वर्तमान समयमा गठबन्धनका दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई पनि महत्वका साथ ध्यान दिने ।
७) गठबन्धनभित्र रहेका दलहरुबीच मात्र चुनावी तालमेल गर्न पाउने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*