गभर्नरले हुण्डी र क्रिप्टो रोक्न समेत चासो दिएनन् – अर्थमन्त्री

तामसालिङ खबर
२९ चैत्र २०७८, मंगलवार ०६:०९

चैत्र, काठमाण्डौ – अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले हुण्डी र क्रिप्टोकरेन्सी लगायत कारोबार रोक्न समेत निलम्बित गभर्नर महाप्रसाद अधिकारीले चासो नदिएको गुनासो गरेका छन् ।

मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले आफूले निकै अघि क्रिप्टो कारोबार रोक्न ध्यानाकर्षण गराएको, तर ग्रामिण क्षेत्रसम्म फैलिएपछि मात्रै झस्केको जस्तो भएको बताए ।

राष्ट्र बैंकले माघ ९ गते गैरकानुनी भर्चुअल करेन्सी अर्थात् क्रिप्टोकरेन्सी कारोबारमा संलग्नलाई कडा कारबाही गर्ने निर्णय लिएको थियो ।
विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले बजारमा क्रिप्टोकरेन्सीजस्ता गैरकानुनी भर्चुअल मुद्राहरूको कारोबार बढेको, कारोबार गर्न प्रेरित गरेको र सोझा साझालाई फसाउने कार्य बढेको सुनिएको भन्दै सो विषयप्रति ध्यानाकर्षण भएको जनाएको थियो । साथै, क्रिप्टो कारोबार हुने एपहरूमा पनि प्रतिबन्ध लगाएको थियो ।

राष्ट्र बैंकले ढिला गरी कदम चालेकोप्रति अर्थमन्त्रीले असन्तुष्टि व्यक्त गरेका हुन् । ‘मैले समयमै यो हुण्डी र क्रिप्टो लगायतबारे बाहिर हो-हल्लामा आउनुअघि नै पाँच महिनाअघि नै ध्यानाकर्षण गराएको थिएँ ।

एकजना युवाले मलाई फोन गरेर यस्तो यस्तो भैरहेको छ भनेपछि मैले सचिवज्यू र गभर्नर साबलाई बोलाएँ,’ उनले भने, ‘यस्तो भैरहेको रहेछ, यसबारे अलिकति अध्ययन अनुसन्धान गरौं भनेँ । तर, त्यो कुरा ग्रामिण क्षेत्रसम्मै पुगिसकेपछि मात्रै झस्केको जस्तो भयो ।’

गभर्नरले कर्जा विस्तारमा पनि लापरवाही गरेर सरकारलाई असहयोग गरेकोप्रति अर्थमन्त्रीले संकेत गरे । कर्जा प्रवाह लक्ष्य १९ प्रतिशत राखेपनि ३२ प्रतिशतसम्म पुगेको, तर त्यत्तिका विस्तार हुँदा पनि केन्द्रीय बैंकले समयमै नियन्त्रण र नियमन नगरेको उनले आरोप लगाए । ‘सो काम अर्थ मन्त्रालयको नभइ राष्ट्र बैंककै हो ।

गभर्नरमाथिको कारबाही व्यक्तिगत आरोप/प्रत्यारोपको विषय नभएको पनि अर्थमन्त्रीले बताएका छन् । आफूले केन्द्रीय बैंकमा हस्तक्षेप गरेको वा गर्ने कुरा नरहेको, तर आ–आफ्नो जिम्मेवारी अनुसारको भूमिका निर्वाह खोजेको उनले उल्लेख गरे । ‘त्यसको रिपोर्टिङ गर्ने सिस्टम हुन्छ होला । पद्धतीअनुसार गर्नुपर्ने काम होला ।

मन्त्रीले त झन् गर्नै मिल्दैन,’ उनले भने । अब गभर्नरविरुद्धको छानबिन समितिले नै आन्तरिक तथ्य सार्वजनिक गर्ने र एकमहिनाभित्र सबै कुरा आउने पनि अर्थमन्त्री शर्माले दाबी गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*