गौतमबुद्ध विमानस्थलमा वैशाख १ गते परीक्षण उडान गर्ने तयारी

तामसालिङ खबर
२९ चैत्र २०७८, मंगलवार ०६:४३

चैत्र, काठमाण्डौ – आगामी जेठ २ गते परेको बुद्ध पूर्णिमाको दिन अन्तर्राष्ट्रिय उडानको तयारी गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ वर्षको पहिलो दिन वैशाख १ गते परीक्षण उडान हुने भएको छ।

नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि परीक्षण उडान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए।

प्राधिकरणका एयर ट्राफिक कन्ट्रोलर र अन्य प्राविधिकहरूलाई अष्ट्रियाको भियना र एरो थाईका प्राविधिकहरूले परीक्षण उडानको लागि उपकरण सञ्चालन सम्बन्धी तालिम दिइसकेका छन्।

निगमको जहाजबाट परीक्षण उडान सकिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई नियमित उडानका लागि प्रस्ताव आह्वान गर्नेछ । यसअघि थाइल्याण्डको एरो थाई कम्पनीले फागुन ६ गतेदेखि १० दिनसम्म यान्त्रिक परीक्षण उडान गरेपछि झण्डै एक दर्जन विदेशी वायुसेवा कम्पनीहरूले उडानको लागि चासो देखाएका छन्।

सरकारले हवाई सेवा कम्पनीलाई औपचारिक रूपमै भैरहवाबाट व्यवसायिक उडानका लागि आग्रह गरेपछि कुवेतको जजिरा एयरलायन्सले सबैभन्दा पहिला सिधा उडानका लागि प्रस्ताव गरेको थियो।

भैरहवाबाट कुवेतमा सिधा उडान भर्न जजिराले अनुमति मागेको र व्यवसायिक उडानको योजना र तयारीमा कुनै समस्या नआए हप्ताको सातै दिन उडान भर्ने प्राधिकरणले जनाएको छ।

त्यस्तै, नेपाल वायुसेवा, श्रीलंकन एयर, सलाम एयर, थाई स्माइल, कतार एयर, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बीच र ओमन एयरले चासो देखाएका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने वायुसेवा कम्पनीलाई पहिलो ६ महिना ल्याण्डिङ र पार्किङ शुल्कमा शतप्रतिशत र दोस्रो ६ महिनामा ५० प्रतिशत छुट दिने योजना प्राधिकरणको छ।

७३ वर्षअघि २००६ सालदेखि सुरू गरिएको देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो बन्दै गएपछि त्यसको विकल्पको रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अगाडि बढाइएको हो।

२००६ सालमा हिमालयन एभिएसनको डाकोटा विमानले पहिलोपल्ट नेपालबाट कलकत्ताको लागि उडान भरे पनि २०२८ सालदेखि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवसायिक रूपबाट प्रयोगमा आएको नेपाली हवाई इतिहास छ।

ठेक्का सम्झौता गर्दा निर्माण सुरू गरेको तीन वर्षमा निर्माण सम्पन्न गर्ने भनिए पनि २०७१ सालमा शिलान्यास गरिएको यो विमानस्थल ७ वर्षपछि मात्रै निर्माण सम्पन्न भएको हो।

भौतिक पूर्वाधार निर्माण र प्राविधिक उपकरण जडानको काम गरी दुई चरणमा निर्माण गरिएको विमानस्थलका लागि एसियाली विकास बैंकले ऋण अनुदान उपलब्ध गराएको हो। आयोजना प्रमुख इञ्जिनियर प्रवेश अधिकारीका अनुसार आइसिबी वान अन्तर्गत ६ अर्ब ८२ करोड ५१ लाख २० हजार २२७ रुपैयाँमा भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न गरिएको हो।

चिनियाँ निर्माण कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपैयाँमा आइसिबी वान अन्तर्गतको कामको ठेक्का सम्झौता गरेको थियो।

तर जहाज उडान र अवतरणको लागि आवश्यक भिजिविलिटीका थप काम समेत आइसिबी वान अन्तर्गत नै राखिएपछि २०७५ साल मंसिरमा कस्ट भेरियसन गर्दा ६० करोड रकम थप गरिएको अधिकारीले जानकारी दिए।

आइसिबी वानअन्तर्गत तीन हजार मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग, धावन मार्ग र जहाज पार्किङ क्षेत्र जोड्ने चार वटा लिंक, पाँच वटासम्म ठूला जहाज पार्किङ गर्नसक्ने क्षमताको पार्किङस्थल, टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण भवन, पानी ट्यांकी, तारवार, नाला, ५ सयभन्दा बढी कार अटाउने क्षमता भएको कार पार्किङ, विद्युत जडान र टर्मिनल विल्डिङको उपकरणसहितको काम समेत समेटिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*