स्थानीय निर्वाचनमा सूर्य चुनाव चिह्न लिएर उठ्ने सम्भावना छ : कमल थापा

तामसालिङ खबर
२५ चैत्र २०७८, शुक्रबार १७:०३

चैत्र, काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)कै चुनाव चिन्ह लिएर पार्टी निर्वाचनमा सहभागी हुन इच्छुक रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित स्थानीय तह निर्वाचन घोषणा–पत्र तथा चुनाव चिह्न सार्वजनिकीकरण समारोहमा बोल्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

त्यस्तै उनले स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेसँग सहकार्य गर्ने कुरा प्रारम्भिक चरणमा सम्पन्न भएको बताए । अध्यक्ष थापाले आफ्नो पार्टीका स्थानीय तहमा उठ्ने नेता तथा कार्यकर्ताहरुले नेकपा एमालेसँग मिलेर सहकार्य र तालमेल गरेर अघि बढ्न पनि आग्रह गरे ।

उनले एमालेसँग स्थानीय तहको निर्वाचनमा तालमेल हुँदा एमालेकै चुनाव चिन्ह लिएर उठ्ने धारणा पार्टीको भएको बताए । उनले भनेका छन्, ‘राप्रपा नेपालले आगामी स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलहरुसँग सहकार्य र तालमेल गर्ने नीति लिएको छ । यस क्रममा नेकपा एमालेसँग प्रारम्भिक चरणको कुराकानी भइसकेको छ । र नेकपा एमालेसँगको सहकार्यलाई हामीले उच्च प्राथमिकता दिने नीति लिएका छौँ ।’

उनले फेरि भने, ‘नेकपा एमालेका केन्द्रिय तहका नेताहरुसँग हामी छिटै नै दुई पक्षीय कुराकानी गरेर निस्कर्षमा पु¥याउने छौँ । र हाम्रो पार्टीको स्थानीय तहका साथीहरुले आफ्ना समकक्षी नेकपा (एमाले)का साथीहरुसँग कुराकानी गरेर सकेसम्म स्थानीय तहमा समझदारी कायम गर्ने प्रयास गर्नुहुनेछ । राजनीतिक, कानूनि र व्यवहारिक रुपमा सम्भव भए र त्यस्तै किसिमको समझदारी कायम हुनसके हामीले नेकपा एमालेसँग सहकार्य र तालमेल गरेर जाने भएको हुँदा साझा चुनाव चिन्हबाट चुनाव लड्ने निर्णय गर्न दिएको थियो ।’

अध्यक्ष थापाले नेपाललाई हिन्दूराष्ट्र कायम गर्ने बारेमा राष्ट्रिय सहमति हुनुपर्ने बताए । उनले हिन्दूराष्ट्र कायम गर्ने बारेमा राष्ट्रिय सहमति नभएमा धर्म निरपेक्षता राख्ने वा हिन्दूराष्ट्र कायम गर्ने भन्ने बारेमा जनताको प्रत्यक्ष अभिमत बुझ्न आगामी संसदीय चुनाव सँग-सँगै राष्ट्रिय जनमत संग्रह गर्न पनि माग गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*