दुई महानगरपालिका र चार उपमहानगरपालिकामा जसपाको दाबी

तामसालिङ खबर
२४ चैत्र २०७८, बिहीबार ०८:३४

चैत्र, काठमाण्डौ – जनता समाजवादी पार्टी नेपालले दुईवटा महानगरपालिका र चारवटा उपमहानगरपालिकाको नेतृत्वमा दाबी गर्ने भएको छ । स्थानीय तहको आसन्न निर्वाचनका लागि सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलका लागि गृहकार्य भइरहेको अवस्थामा जसपा नेपालले यस्तो दाबी गरेको हो ।

जसपाका कार्यकारिणी सदस्य नवराज सुवेदीका अनुसार ६ वटा महानगरपालिकामध्ये दुईवटा नगरपालिकाको प्रमुख पद जसपा नेपालले चाहेको हो । जसपाले यसअघि जितेको वीरगञ्ज महानगरपालिकामा फेरि पनि प्रमुख पदको दाबी कायमै राखेर अर्को एक महानगरमा दाबी गर्ने उनको भनाइ छ । यद्यपि वीरगञ्ज महानगरको प्रमुख पद कुनै पनि हालतमा नछाड्ने बरु अर्को महानगरपालिकाको हकमा जसपा नेपाललाई प्रमुख पद दिए पनि नदिए पनि फरक नपर्ने उनले बताए ।

सुवेदीले भने, ‘मधेस प्रदेशमा रहेको एकमात्र महानगरपालिका वीरगञ्जमाथि हाम्रो दाबी रहनेछ संगठनको हिसाब, जनाधारको हिसाबले मधेस प्रदेशमा जसपा सबैभन्दा बलियो छ । त्यही भएर वीरगञ्ज महानगरपालिका जसपालाई चाहिन्छ ।’

त्यस्तै, ११ वटा उपमहानगरपालिकामध्ये जसपाले चार वटामा प्रमुख पद दाबी गरेको छ । त्यसमध्ये उसले जनकपुरलाई पहिलो प्राथमिकतामा राखेको छ ।

२७६ वटा नगरपालिका र ४६० वटा गाउँपालिकामा सत्तारुढ गठबन्धनबीच तालमेल गर्दा कुन ठाउँमा कसको कस्तो संगठन छ, साविकमा कस्तो मत आएको थियो, उम्मेदवारको लोकप्रियता के छ लगायतका विषयमा छलफल गरेर सीटको बाँडफाँट गरिनुपर्ने सो पार्टीका अर्का कार्यकारिणी सदस्य मनिष सुमनले बताए ।

मनाङ र मुस्ताङबाहेक ७५ वटा जिल्लामा आफ्नो संगठन रहेकाले सोही अनुसार पालिकाहरुमा सीट चाहिने नेता सुवेदीले बताए । गठबन्धनमा रहेका दलहरुले जिल्ला जिल्लाबाट पार्टीगत रिपोर्ट मगाएका छन् । सबैको रिपोर्ट आइसकेपछि त्यसैको आधारमा छलफल गरी तालमेलको खाका तयार हुने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*